जलवायु परिवर्तनले सहरी जीवन र व्यवस्थापनमा पारेको प्रभावमाथि सामूहिक चासो र सहभागिता निर्माण गर्दै कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ क्लाइमेट एक्सन विक २०२६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनले सहरी जीवन र व्यवस्थापनमा पारेको प्रभावमाथि सामूहिक चासो र सहभागिता निर्माण गर्ने उद्देश्यले आगामी मंसिर ७ गतेदेखि ‘काठमाडौँ क्लाइमेट एक्सन विक २०२६’ आयोजना गर्ने भएको छ । महानगरपालिकाले इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर)सँगको सहकार्यमा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम सञ्चालनका लागि आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र आईएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममार्फत समुदायदेखि प्राज्ञिक क्षेत्रसम्मका सरोकारवालालाई सहभागी गराई जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका विषयमा सचेतना तथा सहभागिता अभिवृद्धि गरिने महानगरपालिकाले जनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य जलवायु तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाबीच सहकार्य सुदृढ गर्नुका साथै सहरी वातावरण र विपद् उत्थानशीलताका विषयमा नगरस्तरीय सञ्जाल निर्माण गर्नु रहेको छ । बालबालिका, युवा, समुदाय, जोखिममा रहेका वर्ग, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालालाई समस्या पहिचान र समाधानका उपाय खोज्ने प्रक्रियामा सहभागी गराउने कार्यक्रमको लक्ष्य छ ।

समझदारीपछि कार्यक्रमबाट अपेक्षित नतिजाका विषयमा धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले रैथाने ज्ञान, सीप र अभ्यासलाई विज्ञानसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले जलवायुको प्राकृतिक स्वरूप जोगाउन पुर्खाले अपनाउँदै आएका ज्ञान, सीप र अनुभवलाई व्यवस्थित रूपमा अभिलेखीकरण तथा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

“पूर्खाले गरेको अभ्यास, उहाँहरूको ज्ञान र सीप व्यवस्थित थियो । यो व्यवस्थापनको ज्ञानलाई विज्ञानसँग जोड्न नसकिएकाले मौलिक क्षमता ह्रास भएको छ,” उहाँले भन्नुभयो, “प्रकृति र प्राकृतिक मौसम जोगाउन समुदायका अभ्यास र तथ्यलाई कार्यक्रम सञ्चालनको आधार बनाउनुपर्छ । आवश्यकताका आधारमा यसलाई प्रविधि र नयाँ अभ्याससँग जोड्न सकिन्छ ।”

कार्यवाहक प्रमुख डंगोलले सहरी वातावरण र विपद् व्यवस्थापनमा महानगरपालिकाको मात्र प्रयास पर्याप्त नहुने उल्लेख गर्दै समुदाय तथा सम्बन्धित क्षेत्रका ज्ञान, सीप र क्षमतालाई उपयोग गर्नुपर्ने बताउनुभयो । सहरी जोखिम न्यूनीकरण र जलवायु अनुकूलनका लागि स्थानीय तह, समुदाय, अनुसन्धानकर्ता तथा विज्ञबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

आईएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले पनि काठमाडौँको सहरी जोखिम न्यूनीकरणका लागि विभिन्न क्षेत्रका ज्ञान र क्षमताको उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले करिब चार वर्षअघि ‘मेयर्स रिसर्च फेलोसिप’ अन्तर्गत गरेको अनुसन्धानबाट प्राप्त सिफारिस कार्यान्वयन गर्ने अवसरका रूपमा कार्यक्रमलाई उपयोग गर्ने बताउनुभयो । गौतमले विसं २०७९ मा ‘काठमाडौँमा ढुङ्गेधाराको नक्साङ्कन र संरक्षणका सम्भावना’ विषयमा सहरी योजना आयोगबाट फेलोसिप प्राप्त गर्नुभएको थियो ।

सप्ताहव्यापी कार्यक्रममा सहरी बाढी तथा डुबान, अत्यधिक गर्मी, वायु प्रदूषण, जलस्रोतमा बढ्दो चाप, फोहरमैला व्यवस्थापन, हरियाली क्षेत्रको संरक्षण तथा सांस्कृतिक र पर्यावरणीय सम्पदामाथिको जोखिम न्यूनीकरणलगायत विषयमा नीति संवाद तथा व्यावहारिक कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा जलवायु परिवर्तनका कारण सहरी क्षेत्रमा देखिएका समस्या र त्यसको स्थानीयस्तरमा समाधानका उपायबारे छलफल गरिनेछ ।

कार्यक्रममार्फत जलवायु उत्थानशीलतालाई महानगरपालिकाको योजना तथा बजेट तर्जुमा, जलवायु नीति र नीति निर्माण प्रक्रियासँग जोड्ने लक्ष्यसमेत राखिएको छ । साथै सम्पदा, परम्परागत ज्ञान, खाद्य प्रणाली तथा परम्परागत जल प्रणालीको संरक्षण र प्रवर्धनमा जोड दिइनेछ । यसबाट आगामी दिनमा कार्यान्वयन गर्नुपर्ने प्राथमिकताका विषयमा व्यावहारिक सुझाव तथा प्रतिबद्धता तयार हुने अपेक्षा गरिएको छ ।

महानगरपालिकाका सभा हल, बैठक कक्ष, विद्यालय, खुला स्थान तथा सम्पदा क्षेत्रलगायत विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिनेछ । जलवायु परिवर्तनबाट सिर्जित सहरी जोखिमप्रति समुदायस्तरमा बुझाइ र सहभागिता बढाउँदै स्थानीय ज्ञान, वैज्ञानिक अध्ययन तथा व्यावहारिक अभ्यासलाई एकीकृत गर्ने कार्यक्रमको लक्ष्य रहेको महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *