कालीगण्डकी बाढीको असर : राहुघाटको परीक्षण उत्पादन रोकियो
पहुँच मार्ग अवरुद्ध
काठमाडौँ, असोज १६ । गत साता आएको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले संरचनामा क्षति पुर्याएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले परीक्षण उत्पादन सुरु गरेको एक सातासमेत नपुग्दै असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएको हो ।
आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृहबाट पानी निकास गर्ने ‘टेलरेस डग’को आधा भाग बाढीले बगाएको छ । बाढीले स्वीचयार्डमा रहेको ट्रान्सफर्मर नजिकसम्म कटान गरेपछि उक्त संरचना जोखिममा परेको उहाँले बताउनुभयो ।
“पहुँच मार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । झिँ र दग्नामको सीमामा रहेको बाँधमा गेग्रान थुप्रिएको छ,” उहाँले भन्नुभयो, “विपद्का कारण परीक्षण उत्पादन रोकिएको छ । कालीगण्डकीको कटानबाट जोखिममा परेको ट्रान्सफर्मरलाई जोगाउने प्रयास भइरहेको छ ।”
कालीगण्डकीमा गेग्रानसहितको बाढीको सतह बढेपछि नदीले ग्राभेलको आधार भएको किनारबाट विद्युत्गृहको दिशातर्फ कटान गरेको थियो । बाढी र कटानका कारण चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको करिब १५० मिटर सडकसमेत बगाएको छ । विद्युत्गृह परिसरमा निर्माण गरिएको स्वीचयार्ड पनि नदी कटानको उच्च जोखिममा परेको छ ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले परीक्षण उत्पादन सुरु गरेको दुई दिनमै बाढीले आयोजनामा क्षति पुर्याएपछि उत्पादन बन्द गर्नुपरेको बताउनुभयो । पन्ध्र दिनको परीक्षण उत्पादन पूरा गरी व्यावसायिक उत्पादन सुरु गर्ने तयारी भए पनि बाढीबाट संरचनामा क्षति पुगेपछि अब करिब एक महिनापछि मात्र व्यावसायिक उत्पादन सुरु गर्न सकिने उहाँले जानकारी दिनुभयो । आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन तथा उपकरणसमेत बाढीले बगाएको छ ।
यसैगरी, कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना-कुस्मा प्रसारण लाइनका टावरमा समेत क्षति पुर्याएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार अन्नपूर्ण गाउँपालिका–१ दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइन टावर बाढीले बगाएको छ ।
प्रसारण लाइनमा क्षति पुगेपछि दाना–खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति हुँदै आएका अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ३८ मेगावाटको नीलगिरि १, ७१ मेगावाटको नीलगिरि २ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण सेवा अवरुद्ध भएको छ ।
प्रसारण लाइन तथा टावरमा भएको क्षतिको विवरण सङ्कलन गर्न नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा ग्रिड महाशाखाका प्राविधिकसहितको टोलीले स्थलगत अनुगमन थालेको छ । टोलीले क्षतिको निरीक्षणसँगै विद्युत् आपूर्ति सञ्चालनका वैकल्पिक उपायको खोजी र क्षतिग्रस्त प्रसारण संरचनाको पुनर्निर्माणको काम अघि बढाउने तयारी गरेको महाशाखा प्रमुख खड्काले जानकारी दिनुभयो ।
ट्रेन्डिङ
सबै
१
६
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
सम्बन्धित खबर
