सडक मर्मतका लागि फुर्केखोलाको वैकल्पिक मार्ग आज पाँच घण्टा बन्द रहने

जिल्ला प्रशासन कार्यालयले सडक बन्द रहने समयमा यात्रा गर्ने यात्रु तथा सवारीचालकहरूलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य सम्भावित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

धादिङ, १७ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोलामा पुल बगेपछि प्रयोगमा ल्याइएको वैकल्पिक सडक मर्मतका लागि आज (शनिबार) पाँच घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका–२ स्थित परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार वैकल्पिक सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले लगातारको सवारी चापका कारण क्षति पुगेका वैकल्पिक मार्गका विभिन्न खण्डहरू मर्मत गरी यातायात सहज बनाउन उक्त अवधिभर सडक बन्द गर्नुपरेको जानकारी दिनुभयो।

गत भदौ १० गते आएको अविरल वर्षा र बाढीका कारण पृथ्वी राजमार्गको फुर्केखोलास्थित पक्की पुल बगेपछि यो ग्रामीण सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो।

जिल्ला प्रशासन कार्यालयले सडक बन्द रहने समयमा यात्रा गर्ने यात्रु तथा सवारीचालकहरूलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य सम्भावित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *