नवलपरासी पूर्वमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

काठमाडौँ, १७ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेको जनाइएको छ।

मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा गोरखा–९ का ३० वर्षीय हरिशरण थापा, मंगलसेन–६ अछामका २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, ठाकुरबाबा–१ बर्दियाकी २० वर्षीया आकृति, स्वामीकार्तिक–५ बाजुराका ३२ वर्षीय पवन बुढा, राजापुर–९ बर्दियाका २८ वर्षीय सञ्जय थारू, स्वामीकार्तिक–१ बाजुराका २५ वर्षीय प्रेम बम, कुञ्जयोसोम–५ ललितपुरका २९ वर्षीय अनोज खत्री, बाँसगढी–७ बर्दियाका ३६ वर्षीय लालबहादुर कार्की, नेपालगञ्ज–१६ बाँकेका ४८ वर्षीय अस्लाम भगवान र वनगाड कुपिण्डे–१ सल्यानका २१ वर्षीय अनिल बुढाथोकी रहेका छन्।

घाइते सबैको उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *