आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, १७ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले हिमाली तथा पहाडी भूभागमा आंशिक बदली छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली तथा तराईका भूभागमा पनि आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
