बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

मध्यरातपछि एक्कासि आएको बाढी

काठमाडौँ, असोज १८ । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि सामान्य बाढी आउने अनुमान गरेका थिए । शनिबार रातिसम्म दुवै नदी पूर्ववत् रूपमा बगिरहेका थिए । तर, मध्यरातपछि एक्कासि आएको बाढीले सेतीवेणी बजारमा ठूलो क्षति पुर्‍याएको छ ।

राति करिब १२ बजे सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह अत्यधिक बढेको सूचना पुगेपछि प्रहरीले महत्वपूर्ण कागजात लिएर चौकी छाड्न र सुरक्षित स्थानमा जान निर्देशन पाएको थियो। प्रहरी चौकीबाट बाहिरिएर आसपासका स्थानीयलाई समेत सुरक्षित स्थानतर्फ जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बजारमा पसेको थियो।

बाढीले पर्वततर्फ नौ घर बगाएको र करिब ५० घर डुबानमा परेको स्थानीयले बताएका छन्। सँगै जोडिएको स्याङ्जाको गल्याङ नगरपालिका–५ को बजार क्षेत्रसमेत पूर्ण रूपमा डुबानमा परेको थियो। स्याङ्जातर्फ करिब २५ कच्ची तथा पक्की घर बाढीमा बगेका छन् भने बजार क्षेत्रमा अहिले बालुवा र गिटी थुप्रिएर बगरमा परिणत भएको छ।

स्थानीय रेशमलाल न्यौपानेले बाढीले सेतीवेणीको स्वरूप नै परिवर्तन गरिदिएको बताउनुभयो। “असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ। कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,” उहाँले भन्नुभयो।

बाढीले प्रहरी चौकीसहित खाद्यान्न, विद्युतीय सामग्री, भाँडाकुँडा, फेन्सी पसल र होटलमा क्षति पुर्‍याएको छ। नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारीलगायत वित्तीय तथा सामाजिक संस्थासमेत डुबानमा परेका छन्। स्थानीय अगुवा व्यवसायी न्यौपानेका अनुसार पर्वततर्फ मात्रै घर तथा व्यवसायमा गरी करिब रु १० करोडको क्षति भएको छ।

गुल्मीको अर्बेनीबाट सेतीवेणी आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले करिब रु ३० लाख बराबरको क्षति भएको बताउनुभएको छ। स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यसरी ठूलो बाढी पसेको पहिलोपटक देखेको बताउनुभयो।

स्थानीय होटल व्यवसायी उमाकान्त न्यौपानेले घरसहित रु ४० लाखभन्दा बढीको क्षति भएको बताउनुभयो। “अन्यत्र जाऊँ भने जग्गाजमिन छैन। यही जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ। जीवनभरको कमाइ एकै रातमा बगरमा परिणत भयो,” उहाँले भन्नुभयो। उहाँ अहिले परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बसिरहनुभएको छ।

बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएर आश्रय दिएको छ। यता, स्याङ्जातर्फको बजार क्षेत्र पनि बाढीपछि खण्डहरमा परिणत भएको छ। यहाँ सानाठूला गरी करिब २५ घरमा क्षति पुगेको छ ।

लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आउनुभएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गरौँ भनेर गरेको लगानी बाढीले क्षणभरमै बगाएको बताउनुभयो। उहाँका अनुसार करिब रु ५० लाखभन्दा बढीका सरसामान बाढीले बगाएको छ।

गल्याङ नगरपालिका ५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँको क्षति भएको छ। भौतिक संरचनाबाहेक स्थानीयको १५ करोड रुपियाँभन्दा बढीको धनमाल नष्ट भएको उहाँले जानकारी दिनुभयो । बाढीले स्थानीय मन्दिर, सत्तल तथा शालिग्राम शिलासम्म जाने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्‍याएको छ । स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बाढीपीडितलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको उहाँले बताउनुभयो ।

वर्षौँदेखिको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि सेतीवेणीका धेरै स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन्। उनीहरू अब सुरक्षित स्थानमा बसाइँ सर्ने वा जोखिम मोलेर सोही स्थानमा पुनः घर तथा व्यवसाय सञ्चालन गर्ने भन्ने अन्योलमा छन् ।

शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बाढीले बजार क्षेत्र असुरक्षित बनाएपछि स्थानीय नयाँ ठाउँमा जाने वा जोखिम मोलेर पुनः सोही स्थानमा बस्ने भन्ने विषयमा अन्योलमा रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *