तनहुँमा पशुको कृत्रिम गर्भाधान सेवा विस्तार

नश्ल सुधार तथा दूध र मासु उत्पादन वृद्धि गर्ने उद्देश्य

काठमाडौँ, असोज १८ । तनहुँमा पशुको नश्ल सुधार तथा दूध र मासु उत्पादन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहअन्तर्गतका कृत्रिम गर्भाधान केन्द्रमार्फत आर्थिक वर्ष २०८२/८३ मा १० हजार ७८३ पशुमा कृत्रिम गर्भाधान गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार जिल्लामा १० वटा कृत्रिम गर्भाधान केन्द्र सञ्चालनमा छन्। ती केन्द्रमा ३० जना कृत्रिम गर्भाधानकर्ता परिचालित छन् ।

केन्द्रमार्फत एक हजार ९१० पशुमा कृत्रिम गर्भाधान गरिएको थियो। त्यसमध्ये एक हजार ३४५ गाई, ५६४ भैँसी र एक बङ्गुर छन्। स्थानीय तहअन्तर्गत सञ्चालित सेवामार्फत भने आठ हजार ८७३ पशुमा कृत्रिम गर्भाधान गरिएको केन्द्रले जनाएको छ। स्थानीय तहको सेवाबाट चार हजार ४३८ गाई, चार हजार ३८८ भैँसी, २० बाख्रा र २७ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको हो।

प्राविधिक ठकुरीका अनुसार कृत्रिम गर्भाधानपछि गाईमा ६५ प्रतिशत, भैँसीमा ५० प्रतिशत, बाख्रामा ३० प्रतिशत र बङ्गुरमा ७६ प्रतिशत गर्भाधान दर रहेको छ। “पशुपालन व्यवसायमा उन्नत नश्लका पशुको सङ्ख्या बढाउन, दूध तथा मासु उत्पादन वृद्धि गर्न र पशुपालक किसानको आयआर्जन बढाउन कृत्रिम गर्भाधान सेवालाई महत्वपूर्ण मानिन्छ,” उहाँले भन्नुभयो।

प्राकृतिक गर्भाधानको तुलनामा उन्नत नश्लका साँढे तथा राँगाको वीर्य प्रयोग गरी पशुको नश्ल सुधार गर्न सकिने भएकाले किसानमा कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढ्दै गएको ठकुरीले बताउनुभयो ।

तनहुँमा कृत्रिम गर्भाधान सेवा लिने पशुको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा समेत बढेको छ। केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ५५२ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो। एक वर्षमा कृत्रिम गर्भाधान गरिएका पशुको सङ्ख्या एक हजार २३१ ले बढेको हो ।

जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढ्दै जानु, उन्नत नश्लका पशुप्रति किसानको आकर्षण बढ्नु तथा स्थानीय तहसम्म कृत्रिम गर्भाधान सेवा विस्तार हुनुका कारण सेवाग्राही पशुको सङ्ख्या बढेको प्राविधिक ठकुरीले बताउनुभयो ।

कृत्रिम गर्भाधानबाट उन्नत नश्लका पशु उत्पादनसँगै दूध तथा मासु उत्पादन बढाउन सहयोग पुग्ने भएकाले पशुपालनलाई व्यावसायिक र उत्पादनमुखी बनाउन यो सेवा प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *