चाडपर्वमा काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन, ड्रोन र सिसिटिभीबाट निगरानी
काठमाडौँ, १७ असोज । बडादसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्दै सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण कायम गर्न ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत सुरक्षा योजनाबारे जानकारी दिँदै जिल्लाका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसिटिभी क्यामेराबाट निरन्तर निगरानी गरिने बताए।
उनका अनुसार सुरक्षा निगरानीका लागि तीन वटा ड्रोनसमेत परिचालन गरिनेछ। काठमाडौंका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने संवेदनशील क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी नियमित ‘डग स्निफिङ’ गरिने उनले जानकारी दिए।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन १६६ वटा मोबाइल भ्यान, ५०८ स्थानमा स्ट्याटिक पिकेट, २१० वटा पैदल गस्ती र १५२ स्थानमा मोटरसाइकल गस्ती परिचालन गरिने प्रहरीको योजना छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले चाडपर्वलाई लक्षित गर्दै सामान्य अवस्थाभन्दा थप व्यवस्थित, परिष्कृत र प्रविधिमैत्री सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याइएको बताए।
उनका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, गुण्डागर्दी, जुवातास, टिकटमा हुने ठगी, क्षमताभन्दा बढी यात्रु बोक्ने (ओभरलोड) तथा सवारी दुर्घटनाजस्ता विकृति र आपराधिक गतिविधि न्यूनीकरण तथा नियन्त्रणलाई योजनामा प्राथमिकता दिइएको छ।
यात्रुलाई ठगी र असुविधाबाट जोगाउन तथा आवश्यक सहजीकरण गर्न विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी प्रहरी परिचालनलाई समेत व्यापक बनाइएको एसएसपी घिमिरेले बताए।
प्रहरीले चाडपर्वका बेला बजार, यातायातका साधन, प्रमुख नाका तथा सार्वजनिक स्थानमा भीड बढ्ने भएकाले नागरिकको सुरक्षा र अपराध नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाउने जनाएको छ।
