कार्यवाहक प्रमुख डंगोलद्वारा वडा नं. २३ को प्रशासनिक भवन उद्घाटन
वडावासीलाई सहज
काठमाडौँ, १७ असोज । काठमाडौँ महानगरपालिका वडा नं. २३ को प्रशासनिक भवनको उद्घाटन भएको छ । करबाहेक १ करोड ८४ लाख ७२ हजार रुपियाँ लागतमा नियोक्लासिक (राणाकालीन) शैलीमा निर्माण गरिएको भवनको महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र महानगरपालिकाको विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
बसन्तपुरस्थित जुद्ध बारुण यन्त्र कार्यालय परिसरमा निर्माण गरिएको उक्त भवन विश्व सम्पदा क्षेत्रअन्तर्गत संरक्षित स्मारक उपक्षेत्रको मापदण्डअनुसार तयार गरिएको छ । जुद्ध बारुण यन्त्र कार्यालयसँग मेल खाने गरी निर्माण गरिएको भवनको मौलिक वास्तुशैलीले सम्पदा क्षेत्रको स्वरूपलाई समेत ध्यान दिएको महानगरपालिकाले जनाएको छ ।
भवन उद्घाटन गर्दै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाका सबै वडाको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले वडा कार्यालय पटक-पटक स्थानान्तरण हुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको उल्लेख गर्दै स्थायी प्रशासनिक भवन निर्माण भएपछि वडावासीलाई सहज हुने बताउनुभयो ।
“वडा प्रशासनिक भवन कहिले कता सर्ने, कहिले कता सर्ने हुँदा वडावासीलाई सास्ती भयो । स्थायी स्थानमा आफ्नै भवन भएपछि वडावासीलाई ढुक्क हुन्छ,” उहाँले भन्नुभयो, “यो भवन सबै वडावासीको साझा भवन हो । यसको संरक्षणका लागि पनि साझा दायित्व निर्वाह गर्नुपर्छ ।”
आफ्नै प्रशासनिक भवन भएपछि वडा तहबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने र नागरिकले त्यसको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाको केन्द्रीय कार्यालय भवनसमेत चाँडै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।
वडाध्यक्ष महर्जनले निर्वाचनका क्रममा वडावासीसँग गरिएको प्रतिबद्धताअनुसार आफ्नै प्रशासनिक भवन निर्माण गर्न सफल भएको बताउनुभयो । सडक तथा गल्ली निर्माण र मर्मत, विपद् व्यवस्थापन, उद्यमशीलता प्रवर्द्धन तथा सम्पदा संरक्षणका कामसँगै वडा कार्यालय भवन निर्माणलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
पूर्ववडाध्यक्ष पवित्र बज्राचार्यले वडा भवन निर्माणले वडावासीमा गौरवको अनुभूति गराएको बताउनुभयो । स्थानीय गणपतिलाल श्रेष्ठले मौलिक शैलीमा निर्माण गरिएको भवनले सम्पदामैत्री संरचना निर्माणको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभयो ।
१०७ फिट ६ इञ्च लम्बाइ र १९ फिट चौडाइमा निर्माण गरिएको तीनतले भवनको उचाइ ३२ फिट छ । आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार भवनको प्रत्येक तलाको क्षेत्रफल दुई हजार ४८ वर्गफिट रहेको छ । भवन निर्माणका लागि एसबी कन्स्ट्रक्सनलाई २०८२ मंसिर २१ गते कार्यादेश दिइएको थियो । निर्माण २०८३ असोज ३० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
३
६
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
सम्बन्धित खबर
वर्गीकरण अस्पष्टताका कारण होस्टल व्यवसायी मर्कामा, एकद्वार दर्ता प्रणाली लागू गर्न सरकारको ध्यानाकर्षण
सपनतीर्थ क्षेत्र विकास समितिद्वारा गुठी संरक्षणका लागि अक्षयकोष स्थापना, तीन खलःलाई आर्थिक सहयोग हस्तान्तरण
विश्वकै सबैभन्दा वृद्ध कछुवा ‘जोनाथन’को डीएनएमा मानव दीर्घायुको रहस्य खोज्दै वैज्ञानिक
