कार्यवाहक प्रमुख डंगोलद्वारा वडा नं. २३ को प्रशासनिक भवन उद्घाटन

वडावासीलाई सहज

काठमाडौँ, १७ असोज । काठमाडौँ महानगरपालिका वडा नं. २३ को प्रशासनिक भवनको उद्घाटन भएको छ । करबाहेक  १ करोड ८४ लाख ७२ हजार रुपियाँ लागतमा नियोक्लासिक (राणाकालीन) शैलीमा निर्माण गरिएको भवनको महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र महानगरपालिकाको विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

बसन्तपुरस्थित जुद्ध बारुण यन्त्र कार्यालय परिसरमा निर्माण गरिएको उक्त भवन विश्व सम्पदा क्षेत्रअन्तर्गत संरक्षित स्मारक उपक्षेत्रको मापदण्डअनुसार तयार गरिएको छ । जुद्ध बारुण यन्त्र कार्यालयसँग मेल खाने गरी निर्माण गरिएको भवनको मौलिक वास्तुशैलीले सम्पदा क्षेत्रको स्वरूपलाई समेत ध्यान दिएको महानगरपालिकाले जनाएको छ ।

भवन उद्घाटन गर्दै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाका सबै वडाको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले वडा कार्यालय पटक-पटक स्थानान्तरण हुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको उल्लेख गर्दै स्थायी प्रशासनिक भवन निर्माण भएपछि वडावासीलाई सहज हुने बताउनुभयो ।

“वडा प्रशासनिक भवन कहिले कता सर्ने, कहिले कता सर्ने हुँदा वडावासीलाई सास्ती भयो । स्थायी स्थानमा आफ्नै भवन भएपछि वडावासीलाई ढुक्क हुन्छ,” उहाँले भन्नुभयो, “यो भवन सबै वडावासीको साझा भवन हो । यसको संरक्षणका लागि पनि साझा दायित्व निर्वाह गर्नुपर्छ ।”

आफ्नै प्रशासनिक भवन भएपछि वडा तहबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने र नागरिकले त्यसको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाको केन्द्रीय कार्यालय भवनसमेत चाँडै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

वडाध्यक्ष महर्जनले निर्वाचनका क्रममा वडावासीसँग गरिएको प्रतिबद्धताअनुसार आफ्नै प्रशासनिक भवन निर्माण गर्न सफल भएको बताउनुभयो । सडक तथा गल्ली निर्माण र मर्मत, विपद् व्यवस्थापन, उद्यमशीलता प्रवर्द्धन तथा सम्पदा संरक्षणका कामसँगै वडा कार्यालय भवन निर्माणलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

पूर्ववडाध्यक्ष पवित्र बज्राचार्यले वडा भवन निर्माणले वडावासीमा गौरवको अनुभूति गराएको बताउनुभयो । स्थानीय गणपतिलाल श्रेष्ठले मौलिक शैलीमा निर्माण गरिएको भवनले सम्पदामैत्री संरचना निर्माणको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभयो ।

१०७ फिट ६ इञ्च लम्बाइ र १९ फिट चौडाइमा निर्माण गरिएको तीनतले भवनको उचाइ ३२ फिट छ । आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार भवनको प्रत्येक तलाको क्षेत्रफल दुई हजार ४८ वर्गफिट रहेको छ । भवन निर्माणका लागि एसबी कन्स्ट्रक्सनलाई २०८२ मंसिर २१ गते कार्यादेश दिइएको थियो । निर्माण २०८३ असोज ३० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *