तेल अवीभतर्फ उडिरहेको ‘फ्लाईदुबई’ विमान आक्रमणका शङ्कास्पद सह-चालकको आतङ्कवादी पृष्ठभूमि
अनुसन्धानका क्रममा शङ्कास्पद चालकको लिङ्क्डइन र इन्स्टाग्राम खाताहरूमा घटनालगत्तै अल-कायदा का पूर्वनेता अयमान अल-जवाहिरी र सन् २००९ मा अमेरिकी गुप्तचर संस्था का अधिकारीहरूमाथि आत्मघाती बम हमला गराउने हुमाम खालिलको तस्बिरहरू पोस्ट गरिएको पाइएको छ।
काठमाडौं । तेल अवीभतर्फ उडिरहेको ‘फ्लाईदुबई’ को विमानभित्र आफ्ना मुख्य चालकमाथि बञ्चरो प्रहार गरी विमान नियन्त्रणमा लिने प्रयास गर्ने ओमानी नागरिक सह-चालकबारे गम्भीर तथ्यहरू बाहिर आएका छन्। शङ्कास्पद चालक हमम अल-हम्मामी लाई उग्रवादी र कट्टरपन्थी विचारका कारण यसअघि नै ओमानको राष्ट्रिय एयरलाइन्स को तालिमबाट हटाइएको खुलेको छ।
संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ताका अनुसार हम्मामीले विमानको ककपिटमा राखिने आपत्कालीन बञ्चरो (Crash Ax) ले सहकर्मी चालकमाथि सांघातिक आक्रमण गरी विमान अपहरणको प्रयास गरेका थिए। युएई प्रशासनले यस घटनालाई “आतङ्कवादी कृतिको प्रयास” भनेको छ। आक्रमणपछि विमानलाई साउदी अरबमा आपत्कालीन अवतरण गराइएको थियो।
सामाजिक सञ्जालमा आतङ्कवादी तस्बिर र भिडियो
अनुसन्धानका क्रममा शङ्कास्पद चालकको लिङ्क्डइन र इन्स्टाग्राम खाताहरूमा घटनालगत्तै अल-कायदा का पूर्वनेता अयमान अल-जवाहिरी र सन् २००९ मा अमेरिकी गुप्तचर संस्था का अधिकारीहरूमाथि आत्मघाती बम हमला गराउने हुमाम खालिलको तस्बिरहरू पोस्ट गरिएको पाइएको छ।
त्यसैगरी, सन् २०२३ को अक्टोबरमा खिचिएका केही ककपिट भिडियोहरूमा उनले इजरायली एयरलाइन्सका विमानहरूलाई लक्षित गरी भिडियो बनाएको र धार्मिक कट्टरता झल्किने कविता तथा सामग्रीहरू पोस्ट गरेको भेटिएको छ।
पाइलट भर्ना प्रक्रिया र सुरक्षामाथि गम्भीर प्रश्न
ओमानमा जन्मिएका र युएईमा हुर्किएका हम्मामीले ओमान एयरमा सात वर्ष काम गरेका थिए। तर, उग्रवादी सोचका कारण उडान तालिमबाट हटाइएपछि उनले सन् २०२५ मा रोयल एयर म्यारोकमा ३ महिना तालिम लिए पनि छनोट हुन सकेका थिएनन्। त्यसपछि उनी विगत आठ महिनादेखि मात्रै फ्लाईदुबईमा कार्यरत थिए।
ओमानले इजरायललाई देशको रूपमा मान्यता नदिएको अवस्थामा र कट्टरपन्थी पृष्ठभूमि भएका व्यक्ति कसरी तेल अवीभ जाने विमानको सह-चालक बने भन्ने विषयमा इजरायली गुप्तचर संस्था र युएई प्रशासनले संयुक्त अनुसन्धान सुरु गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शङ्कास्पद व्यक्ति ‘इस्लामी कट्टरपन्थी विचार’बाट प्रभावित भएको पुष्टि गर्दै साउदी अरबमा भइरहेको सोधपुछमा इजरायल पनि सहभागी भइरहेको जानकारी दिनुभएको छ। युएईको कानुनअनुसार आफ्नो देशमा दर्ता भएका विमानभित्र हुने अपराधको अनुसन्धान गर्ने पूर्ण अधिकार युएई सरकारसँग रहनेछ।(स्रोतः सीएनएन)
