पुम्दीभुम्दी प्रवर्धनका लागि पर्वतीय दौड हुँदै

काठमाडौँ, असोज १७ । पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्यले असोज २४ गते पर्वतीय दौड आयोजना हुने भएको छ ।

फेवातालसँग जोडिएको पुम्दीभुम्दी धार्मिक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि अपेक्षित रूपमा प्रवर्द्धन हुन नसकेको भन्दै पोखरा प्रवर्द्धन केन्द्रले विगत तीन वर्षदेखि पर्वतीय दौड आयोजना गर्दै आएको हो । विशाल महादेवको मूर्ति, विश्वशान्ति स्तूप तथा बुद्धपार्कलगायतका पर्यटकीयस्थल रहेको यस क्षेत्रलाई खेल पर्यटनमार्फत चिनाउने आयोजकको लक्ष्य छ ।

कार्यक्रममा हालसम्म १८ जिल्लाका ८० भन्दा बढी धावकले नाम दर्ता गराइसकेको केन्द्रका अध्यक्ष एवं कार्यक्रम संयोजक दीननाथ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार खेल पर्यटनका माध्यमबाट ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

“पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्न पर्वतीय दौड प्रभावकारी माध्यम बन्ने अपेक्षा गरेका छौँ”, संयोजक बरालले भन्नुभयो ।

विश्वशान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ को वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ । आठ किलोमिटर दूरीको दौडमा खुला, वडास्तरीय खुला, महिला, यु–१६, विदेशी र भेट्रान्स गरी छ विधामा प्रतिस्पर्धा गराइनेछ ।

खुलातर्फ प्रथम हुने धावकले रु ५० हजार, द्वितीयले रु ३० हजार, तृतीयले रु १५ हजार, चौथोले रु सात हजार र पाँचौँले रु तीन हजार पुरस्कार प्राप्त गर्नेछन् । वडास्तरीय खुला, महिला र यु–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु १५ हजार, रु सात हजार र रु तीन हजारसहित मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

विदेशीतर्फका विजेताले रु १५ हजार र उपविजेताले रु सात हजार तथा भेट्रानतर्फ विजेताले रु १५ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले फेवातालसँगै जोडिएको भए पनि पुम्दीभुम्दी क्षेत्र अपेक्षाकृत पछाडि परेको बताउनुभयो । लेकसाइडबाट तालपारि रहेको यस क्षेत्रको खेल पर्यटन प्रवर्धनमा पर्वतीय दौडले योगदान पुर्‍याउने उहाँको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले प्रतियोगिता आयोजकको मात्र नभई पोखराका पर्यटन व्यवसायीको समेत अपनत्वको कार्यक्रम भएको बताउनुभयो । अन्तरराष्ट्रियस्तरमा नेपाललाई पदक दिलाएका धावक सहभागी भएमा आवश्यक आतिथ्य सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

खेलका माध्यमबाट पोखरा २२ सहित पोखराका ग्रामीण क्षेत्रमा रहेको खेल पर्यटनको सम्भावना उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो । प्रतियोगितामा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका–२२ को सहकार्य रहेको छ ।

केन्द्रका सचिव सागर सुनारका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख ९७ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार अन्तरराष्ट्रिय म्याराथन धावक तथा सहारा युकेका पूर्वअध्यक्ष अवकाशप्राप्त लेफ्टिनेन्ट कुसाङकुमार गुरुङले प्रायोजन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *