प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान नेकपा संयोजक दाहालको आह्वान: एआईका सामाजिक असरप्रति सजग रहन आग्रह

विश्वका धेरै देशहरूले एआईबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न नीतिगत व्यवस्था गरिसकेको उल्लेख गर्दै उहाँले नेपालमा पनि प्रविधिको विकास र यसका सामाजिक असरहरूबारे समयमै गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

बनेपा (काभ्रे), १७ असोज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारहरूमा भइरहेको राजनीतिक सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी आगामी स्थानीय निर्वाचनसम्मै विस्तार र सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ।

काभ्रेको धुलिखेलमा आयोजित पार्टीको एकता बैठक तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले बदलिँदो राजनीतिक परिस्थितिमा विचार र सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो। “यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ,” उहाँले भन्नुभयो।

पार्टी सङ्गठन विस्तारका लागि सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने उल्लेख गर्दै संयोजक दाहालले उपलब्ध जनशक्ति र क्षमताको प्रभावकारी उपयोग गर्न नेता-कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो।

एआईको असर र चुनौतीबारे चिन्ता

सम्बोधनका क्रममा संयोजक दाहालले तीव्र गतिमा भइरहेको कृत्रिम बौद्धिकता (AI) को विकासले रोजगारी, मानवीय सोच र सिर्जनशीलतामा पार्न सक्ने प्रभावबारे गम्भीर चर्चा गर्नुभयो। एआईमा अत्यधिक निर्भर हुँदा मानिसको अध्ययन गर्ने र सोच्ने अभ्यास कमजोर हुनुका साथै श्रमिकहरू विस्थापित हुने जोखिम बढ्दै गएको उहाँको भनाइ थियो।

विश्वका धेरै देशहरूले एआईबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न नीतिगत व्यवस्था गरिसकेको उल्लेख गर्दै उहाँले नेपालमा पनि प्रविधिको विकास र यसका सामाजिक असरहरूबारे समयमै गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

वर्तमान राजनीतिक परिस्थितिबाट निराश नभई धैर्य र अनुशासनका साथ सङ्गठन निर्माणमा जुट्न उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *