कांग्रेसको १५औँ महाधिवेशन भोलि खुलामञ्चमा, ७ हजार ५०० प्रतिनिधि सहभागी हुने

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि असोज १८ गते काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा उद्घाटन हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटन समारोह पार्टी सभापति गगनकुमार थापाले गर्नेछन्।

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलका रूपमा परिचित खुलामञ्चमै महाधिवेशन हुन लागेको हो। यही टुँडिखेलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलन सफल भएको घोषणा गरेका थिए।

उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताका साथै प्रमुख राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

महाधिवेशन तयारीबारे शनिबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले यसलाई नयाँ पुस्ताको उल्लेख्य सहभागिता रहेको महाधिवेशनका रूपमा प्रस्तुत गरे। उनका अनुसार नवपुस्ताका ४४ हजार युवाले पार्टीमा जिम्मेवारी पाएका छन् भने उनीहरूसहित निर्वाचित सात हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्।

गत पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि १५औँ महाधिवेशन आयोजना हुन लागेको हो। पार्टी कार्यालयका अनुसार महाधिवेशनमा देश तथा विदेशबाट करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुनेछन्।

यस महाधिवेशनबाट ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीले पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउने कांग्रेसले जनाएको छ। ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ महाधिवेशनको मूल नारा तय गरिएको छ।

प्रवक्ता चालिसेका अनुसार बन्दसत्रमा ‘नयाँ सङ्कल्प’का विषयमा छलफल गरी त्यसको कार्यान्वयनको खाका तयार गरिनेछ। महाधिवेशनले पार्टीमा विधि र पद्धति निर्माणलाई प्राथमिकतामा राख्ने उनले बताए।

महाधिवेशन प्रतिनिधिको दर्ता शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। निर्वाचन समितिका अनुसार प्रतिनिधिले सहभागिता दर्ताका लागि ३ हजार ५०० रुपैयाँ बुझाउनुपर्नेछ।

आवास व्यवस्थापन समितिले प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर प्रतिनिधिको बसोबास व्यवस्थापनमा समन्वय गर्ने जनाएको छ। सहभागीलाई आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत उपलब्ध गराइनेछ।

उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाएर तीनवटा हलमा छलफल गरिनेछ।

प्रतिनिधिले प्रस्तुत प्रतिवेदन डिजिटल बोर्डमार्फत हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको प्रवक्ता चालिसेले जानकारी दिए। निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ। मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ।

महाधिवेशनमा सहभागीका निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।

महाधिवेशनसम्बन्धी सूचना तथा गतिविधि सम्प्रेषणका लागि खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ। त्यहाँबाट नियमित मिडिया ब्रिफिङसमेत गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *