गलकोटमा बाढी, पहिरो र हुरीबाट ६३ घरमा क्षति
काठमाडौँ, असोज १८ । बागलुङको गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो तथा हुरीका कारण ६३ घरमा क्षति पुगेको छ ।
गलकोट नगरपालिकाका अनुसार विपद्का कारण एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको हो । त्यस्तै, अन्य १३३ घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ ।
हुरीका कारण मात्रै ३९ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ५२ घरमा आंशिक क्षति पुगेको छ । विपद्का कारण स्थानीय बासिन्दाका घर तथा भौतिक संरचनामा समेत उल्लेख्य क्षति भएको छ ।
यसैगरी, पक्की सिँचाइतर्फ २१ संरचनामा ठूलो क्षति पुगेको छ भने २४ संरचनामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइतर्फ २०३ संरचनामा समेत क्षति पुगेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विपद्बाट भएको क्षतिको विवरण सङ्कलन तथा प्रभावित क्षेत्रको अवस्थाबारे थप अध्ययन गरिरहेको जनाएको छ ।
