महालक्ष्मीको १६ दिने व्रत समापन
काठमाडौँ, असोज १८ । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अर्घ्य दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिइने यस व्रतका प्रभावले दुःख तथा दारिद्र्य नाश भई सुख, शान्ति, श्रीवृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। विशेषगरी महिलाले यो व्रत लिने परम्परा रहेको छ ।
विभिन्न धार्मिक ग्रन्थमा भगवान् शङ्करले महालक्ष्मी व्रतको विधि देवी पार्वतीलाई बताउनुभएको उल्लेख छ। यस व्रतको प्रभावले मानव देह त्यागपछि दिव्यधाम प्राप्त हुने जनविश्वाससमेत रहेको छ ।
महालक्ष्मी व्रतकथाअनुसार देवराज इन्द्रले महालक्ष्मीको व्रत तथा पूजाआराधना गरी ‘महालक्ष्म्याष्टक स्तोत्र’ रचना गर्नुभएको थियो। बिहान, मध्याह्न र साँझ गरी दिनमा तीन पटक उक्त स्तोत्र पाठ गरेमा धनधान्य, सुख–समृद्धि प्राप्त हुनुका साथै शत्रु नाश हुने धार्मिक विश्वास छ ।
वैदिक परम्पराअनुसार प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ। त्यसबाहेक आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण औँसीमा पनि महालक्ष्मीको विशेष पूजा गर्ने परम्परा छ ।
यसैगरी, आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दुर्गा पक्षमा महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको समेत विशेष पूजा तथा आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।
