मौलिक संस्कृति संरक्षणका लागि छिनामखुमा साकेवाथान निर्माण
मौलिक संस्कृति, परम्परा र पहिचान
काठमाडौँ, असोज १८ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका २ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ । आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति तथा परम्परा ओझेलमा पर्दै गएपछि तिनको संरक्षण र प्रवर्द्धनका लागि साकेवाथान निर्माण गरिएको हो ।
धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनलाई व्यवस्थित बनाउन करिब १४ लाख रुपियाँको लागतमा साकेवाथान निर्माण गरिएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाको बजेट, वडा कार्यालयको समन्वय तथा स्थानीयवासीको सक्रिय सहभागितामा निर्माण सम्पन्न गरिएको हो ।
“हामीले भौतिक पूर्वाधारसँगै सांस्कृतिक पूर्वाधारको विकासलाई पनि प्राथमिकता दिएका छौँ। मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको निरन्तरता कायम गर्न साकेवाथान निर्माण गरेका हौँ”, वडाध्यक्ष राईले भन्नुभयो।
साकेवाथान किराँत समुदायको धार्मिक आस्था र सांस्कृतिक अभ्याससँग प्रत्यक्षरूपमा जोडिएको स्थल हो । यहाँ उधौली र उभौली पर्वका अवसरमा वर्षमा दुईपटक विशेष पूजाआजा गरिनुका साथै साकेला नाच प्रदर्शन गर्ने गरिन्छ। कृषि चक्रसँग सम्बन्धित यी पर्वमा प्रकृति, भूमि तथा देवीदेवताप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको स्थानीयवासी देवकुमार राईले बताउनुभयो ।
उहाँका अनुसार यसअघि व्यवस्थित पूजास्थलको अभावमा उधौली, उभौलीलगायत सांस्कृतिक गतिविधि सञ्चालन गर्न कठिनाइ हुने गरेको थियो। “अहिले साकेवाथान निर्माण भएपछि पूजाआजा, साकेला नाचलगायत सांस्कृतिक गतिविधि व्यवस्थितरूपमा सञ्चालन गर्न सहज भएको छ”, उहाँले भन्नुभयो ।
साकेवाथान निर्माणले समुदायमा सामाजिक एकता र सद्भाव अभिवृद्धिमा समेत सहयोग पुगेको स्थानीयवासीको भनाइ छ। चाडपर्व तथा सांस्कृतिक अवसरमा विभिन्न उमेर समूहका मानिस एकै ठाउँमा भेला भएर परम्परागत संस्कृतिको अभ्यास गर्ने भएकाले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्पराबारे जानकारी गराउनसमेत सहज भएको उनीहरू बताउँछन्।
साकेवाथान निर्माणसँगै छिनामखुमा सांस्कृतिक गतिविधि बढ्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। सांस्कृतिक महत्व बोकेको स्थललाई थप व्यवस्थित गरी प्रचारप्रसार गर्न सके धार्मिक तथा सांस्कृतिक पर्यटनको आकर्षणको केन्द्र बनाउन सकिने स्थानीयवासी जीवन राईले बताउनुभयो।
किराँत समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको साकेवाथानलाई व्यवस्थित सांस्कृतिकस्थलका रूपमा विकास गर्दै भावी पुस्तामा संस्कृति हस्तान्तरण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। वडा कार्यालयले आगामी दिनमा साकेवाथानको संरक्षण, आवश्यक पूर्वाधार विकास तथा प्रचारप्रसारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
