कांग्रेस महाधिवेशनको बन्दसत्र खुलामञ्चमै, तीन हलमा डिजिटल बोर्डबाट प्रत्यक्ष प्रसारण
काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटनपछि भोलि र पर्सि बन्दसत्र पनि खुलामञ्चमै सञ्चालन हुने कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूहमा विभाजन गरी छलफल गराउने तयारी कांग्रेसले गरेको छ ।
महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएकाले बन्दसत्रका लागि करिब ३ हजार प्रतिनिधि अट्ने क्षमताका तीनवटा हल तयार पारिएको कांग्रेसले जनाएको छ ।
बन्दसत्र सञ्चालन हुने प्रत्येक हलमा डिजिटल बोर्ड जडान गरिएको छ । एउटा हलमा भइरहेको छलफललाई अन्य हलमा रहेका प्रतिनिधिले पनि डिजिटल बोर्डमार्फत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएकाे छ ।
ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले एउटै स्थानबाट सबैलाई छलफलमा सहभागी गराउन कठिन हुने अवस्थामा डिजिटल बोर्डको व्यवस्थाले प्रतिवेदनमाथिको छलफललाई सहज रूपमा पछ्याउन सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ ।
कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म चल्नेछ । महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्वसमेत चयन हुनेछ ।
