होर्मुज जलडमरूमध्यमा पाँच दिनमा सात तेल ट्यांकर निशानामा परेको इरानी सञ्चारमाध्यमको दाबी

एजेन्सी, १८ असोज । इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलडमरूमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले जनाएको छ ।

फर्सका अनुसार आईआरजीसीले पछिल्ला दिनमा दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको र अमेरिकाको नियन्त्रणमा रहेको बताइरहेका बेला उक्त घटनाक्रम सार्वजनिक भएको हो ।

फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टलाई उद्धृत गर्दै शुक्रबार जलडमरूमध्यमा दुई तेल ट्यांकरमा विस्फोट भएको जनाएको छ । तीमध्ये एउटा जलडमरूमध्यको प्रवेश क्षेत्रमा र अर्को बाहिरिने क्रममा विस्फोट भएको बताइएको छ ।

मेन्चओसिन्टका अनुसार पछिल्ला चार दिनमा कुवेतका ‘अल फुन्टास’ र ‘काजिमाह–३’ तथा संयुक्त अरब इमिरेट्सका ‘सिनबाड’, ‘मेर्सिन प्रोस्पेरिटी’ र ‘अल रुवाइस’ नामका जहाजसमेत प्रभावित भएका छन् ।

सिन्ह्वाका अनुसार इरानले फेब्रुअरी २८ देखि होर्मुज जलडमरूमध्यमा आफ्नो निगरानी तथा नियन्त्रण थप कडा बनाएको छ । इरानले इजरायल वा अमेरिकासँग सम्बन्धित तथा ती देशसँग जोडिएका जहाजलाई सुरक्षित मार्ग दिन रोक लगाइएको जनाएको छ ।

इरानी पक्षले इरानी भूभागमा भएको संयुक्त हमलापछि जलडमरूमध्यमा निगरानी तथा नियन्त्रण कडा पारिएको बताएको छ । पछिल्लो घटनाबारे स्वतन्त्र रूपमा पुष्टि भएका विवरण भने स्रोतहरूले उल्लेख गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *