बालिका अपहरणको आरोपमा फरार युवक प्रहरीको गोली लागेपछि पक्राउ
बुटवल, १८ असोज । रुपन्देहीको तिलोत्तमामा घरमै सुतिरहेकी १० वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा फरार एक युवक प्रहरीको गोली लागेपछि पक्राउ परेका छन् ।
तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय युवराज थारु भनिने विशाललाई प्रहरीले शनिबार राति तिलोत्तमाको कान्छी बजारस्थित जंगलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको थियो । गोली लागेर उनको खुट्टामा चोट लागेको र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थारुले बुधबार राति घरभित्र सुतिरहेकी बालिकालाई अपहरण गरेका थिए । राति करिब २ बजे बालिकालाई कपडा ओढाइदिन खोज्दा हजुरआमाले उनलाई ओछ्यानमा नभेटेपछि परिवारले अपहरण भएको थाहा पाएको थियो ।
बालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले बिहीबार बिहानैदेखि गाउँ आसपास तथा स्थानीय जंगल क्षेत्रमा खोजी थालेको थियो । खोजीका क्रममा अपहरणमा संलग्न व्यक्तिको पहिचान खुल्ने आधार फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले शुक्रबार साँझ करिब ७ बजे कान्छी बजारस्थित जंगलबाट अपहरण भएको करिब ३८ घण्टापछि बालिकालाई सकुशल उद्धार गरेको थियो । बालिका उद्धार भए पनि घटनामा संलग्न थारु फरार थिए ।
बालिका उद्धार गरिएको स्थानमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले थारुको पहिचान गरी खोजी जारी राखेको थियो । सोही क्रममा शनिबार राति करिब १ बजे उनलाई जंगलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
अपहरणमा परेकी बालिका सकुशल रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
