स्तन क्यान्सरविरुद्धको ‘पिंक वाक’मा सुनिता डंगोलको सक्रिय सहभागिता
स्तन क्यान्सरको समयमै पहिचान र उपचारको सन्देशसहित वसन्तपुरदेखि पाटनसम्म आयोजित ‘पिंक वाक’मा सुनिता डंगोलसहित एक हजारभन्दा बढीको सहभागिता
काठमाडौँ, १८ असोज। स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘पिंक वाक २०२६’ मा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल सहभागी हुनुभएको छ। एक हजारभन्दा बढीको सहभागिता रहेको जनचेतनामूलक पदयात्रामा सहभागी हुँदै डंगोलले स्तन क्यान्सरको समयमै पहिचान र उपचारको महत्वबारे जनचेतना फैलाउने अभियानमा ऐक्यबद्धता जनाउनुभएको हो।
शनिबार बिहान ६ बजे काठमाडौँको वसन्तपुर दरबार स्क्वायरबाट सुरु भएको पदयात्रा ललितपुरको मंगल बजारस्थित पाटन दरबार स्क्वायर पुगेर सम्पन्न भएको थियो। सहभागीहरूले स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए। परम्परागत धिमे बाजासहित निकालिएको ¥यालीमा डंगोलसहित स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता थियो।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको धारणा राख्नुभएको थियो। उहाँले क्यान्सर प्रभावित व्यक्ति तथा परिवारलाई सामाजिक साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै जनचेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो।
‘पिंक वाक’मा सामाजिक अभियन्ता अनुराधा कोइराला, चिकित्सक डा. ओजस्वी शेरचन, पूर्वमन्त्री सुमना श्रेष्ठ, संगीतकार कालीप्रसाद बाँस्कोटा तथा मिस नेपाल दिपमाला दाहाल लगायतको पनि सहभागिता थियो।
कार्यक्रममा क्यान्सर केयरका डा. मदन पिया, डा. सन्ध्या र डा. रश्मिले स्तन क्यान्सरका लक्षण, पहिचान तथा उपचारका विषयमा जानकारी दिनुभएको थियो। समापन समारोहमा क्यान्सरबाट उपचारपछि स्वस्थ जीवनमा फर्किएका व्यक्तिहरूले आफ्ना अनुभव सुनाउँदै समयमै उपचार पाए क्यान्सरबाट निको भएर सामान्य जीवन बिताउन सकिने सन्देश दिएका थिए।
पूर्वमिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा स्तन क्यान्सरविरुद्ध सामूहिक ऐक्यबद्धता जनाइएको थियो। कार्यक्रममा उठेको रकम क्यान्सर प्रभावित बिरामीको सहयोगका लागि प्रदान गरिएको आयोजकले जनाएको छ।
इन्फिनाइट केयर्सको आयोजना तथा क्यान्सर केयर नेपालको सहकार्यमा आयोजित ‘पिंक वाक २०२६’ले स्तन क्यान्सरसम्बन्धी जनचेतना बढाउनुका साथै नियमित स्वास्थ्य परीक्षण र प्रारम्भिक उपचारको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
अभियान सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था, साझेदार तथा सहभागीलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ। आयोजकका अनुसार स्तन क्यान्सरसम्बन्धी सचेतना फैलाउँदै यसको समयमै पहिचान र उपचारलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश जनस्तरसम्म पुर्याउनु कार्यक्रमको प्रमुख उपलब्धि हो।
