युरोप पठाइदिने भन्दै ११ लाख ५० हजार ठगी गरेको आरोपमा दुई पक्राउ
काठमाडौँ, १८ असोज । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने सोही महानगरपालिका–२१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौँ महानगरपालिका–१३ बस्ने धादिङको गल्छी गाउँपालिका–३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन् ।
प्रहरीका अनुसार जोशीले ग्रिस पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए ।
त्यस्तै, खनालले क्रोएसिया पठाइदिने भन्दै तीन जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ । रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै उनीविरुद्ध पनि उजुरी परेको प्रहरीले जनाएको छ ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जोशीलाई काठमाडौँ महानगरपालिका–२९ र खनाललाई महानगरपालिका–१३ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
