बेत्रावतीमा दसैँअघि बेलीब्रिज सञ्चालनमा ल्याउने तयारी

रसुवा, १८ असोज । नेपाली सेनाको नेतृत्वमा रसुवा–नुवाकोट सीमास्थित बेत्रावतीको फलाखुखोलामा निर्माण भइरहेको बेलीब्रिज दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

गत भदौमा आएको बाढीले फलाखुखोलाको पक्की पुल बगाएपछि पासाङल्हामु मार्गअन्तर्गत उक्त सडकखण्ड अवरुद्ध भएको थियो। बेलीब्रिज निर्माण सम्पन्न भएपछि रसुवातर्फको सडक यातायात पुनः सहज हुने अपेक्षा गरिएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको हो।

उहाँका अनुसार बेलीब्रिज जडानका लागि आवश्यक सामग्री निर्माणस्थलमा पु¥याइसकिएको छ। बाढी प्रभावित नागरिकलाई राहत दिने सरकारी नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै बडादसैँअघि नै पुल जडान गरी सवारीसाधन सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै फलाखुखोलामा रहेका पुरानो र नयाँ दुवै पक्की पुल बगाएको थियो। पुल बगेपछि काठमाडौँ–नुवाकोट हुँदै रसुवासम्मको सडक यातायात प्रभावित भएको छ।

पुल नहुँदा रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रबीचको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी र अत्यावश्यक सेवासमेत प्रभावित हुँदै आएको छ। बेलीब्रिज सञ्चालनमा आएपछि राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क सहज हुने जिल्लावासीको अपेक्षा छ।

संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले दसैँअघि बेत्रावतीमा पुल सञ्चालनमा आए राष्ट्रिय चाडपर्वका समयमा सर्वसाधारणको आवतजावत सहज हुने बताउनुभयो। उहाँले नुवाकोट हुँदै काठमाडौँसँग रसुवाको सडक सम्पर्क पुनः जोडिनुका साथै बाढी प्रभावित नागरिकलाई समेत राहत पुग्ने बताउनुभयो।

तामाङले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार र यातायात सञ्चालनका लागि सरकारले गरेको काम तथा बाढीपछि नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *