भोटेकोशी बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
रसुवा, १९ असोज । गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी गरी चार विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।
शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। पूर्ण क्षति पुगेका विद्यालयहरूमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।
सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५ जना, मालिकादेवी आधारभूत विद्यालयका ११ जना, मोडर्न ट्रिनिटीका आठ जना र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिए।
बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँको विद्यालयमा पठाइएको छ भने मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी माविमा, भलायडाँडामा अध्ययनको प्रबन्ध गरिएको छ। त्यसैगरी मोडर्न ट्रिनिटीका विद्यार्थीलाई बसोबासको व्यवस्थासहित नीलकण्ठ माविमा पठनपाठनको प्रबन्ध मिलाइएको छ।
बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालयहरू पूर्ण रूपमा बन्द भएका थिए। तर नौकुण्ड गाउँपालिकामा भने गत भदौ ११ गतेदेखि नै पठनपाठन पुनः सुचारु भइसकेको थियो।
