घान्द्रुकमा फेरि फर्कियो पर्यटकको चहलपहल, दैनिक ३ सयसम्म पुग्न थाले

कास्की २० असाेज । बाढीपहिरोका कारण लामो समय अवरुद्ध बनेको बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चहलपहल बढ्न थालेको छ।

अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा बाटो सहज भएसँगै पर्यटन व्यवसायीमा पनि उत्साह थपिएको छ। असार, साउन र भदौमा पर्यटक आगमन लगभग शून्य बनेकोमा अहिले विस्तारै पर्यटक आउन थालेका हुन्।

घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले सडक खुलेसँगै गाउँमा पर्यटकको आवागमन सुरु भएको बताउनुभयो। चाडपर्वसँगै पर्यटकीय यामसमेत सुरु भएकाले अब व्यवसाय चलायमान हुने अपेक्षा रहेको उहाँको भनाइ छ।

“चाडपर्वसँगै पर्यटकको सिजन पनि सुरु भएको छ। बाटो पनि सहज भएको छ,” उहाँले भन्नुभयो, “असार, साउन र भदौमा पर्यटक शून्यजस्तै थिए। अहिले विस्तारै आउन थालेका छन्। अब केही हुन्छ कि भन्ने आशा पलाएको छ।”

होटल रक एण्ड मुडका सञ्चालक तथा रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले सडक खुलेको जानकारी अझै धेरै सम्भावित पर्यटकसम्म पुग्न नसकेको बताउनुभयो।

“पर्यटक आउन सुरु गर्नुभएको छ, तर अझै पनि धेरैलाई बाटो खराब छ भन्ने लागेको हुन सक्छ,” उहाँले भन्नुभयो, “घान्द्रुक जाने योजना बनाएका कतिपयले सडक अवरुद्ध भएको जानकारीका कारण आफ्नो योजना रद्द गरेका हुन सक्छन्। अब बाटो सहज छ, ढुक्क भएर घुम्न आउनुहोस् भन्ने सन्देश दिन आवश्यक छ।”

लगातारको वर्षाका कारण विभिन्न स्थानमा खसेका पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएपछि पर्यटक आउन थाले पनि आगमन अझै अपेक्षाअनुसार नभएको उहाँले बताउनुभयो।

उहाँका अनुसार अघिल्ला वर्षमा यही समयमा होटल भरिभराउ हुने गरे पनि अहिले पर्यटकको संख्या निकै कम छ। ४५ जनासम्म राख्न सक्ने आफ्नो होटलमा अहिले दैनिक पाँचदेखि सात जनामात्रै पाहुना आउने गरेको उहाँले जानकारी दिनुभयो।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार मौसम खुलेसँगै सडक पनि सञ्चालनमा आएपछि गाउँको पर्यटन व्यवसाय विस्तारै लयमा फर्किन थालेको छ।

अहिले दैनिक २ देखि ३ सयसम्म पर्यटक घान्द्रुक पुग्न थालेका छन्। “यो पर्यटक आउने समय नै हो। यही समयमा बाटो बिग्रँदा निकै चिन्ता लागेको थियो,” उहाँले भन्नुभयो, “सबैको पहलमा बाटो बनाएपछि पाहुना आउन थालेका छन्। पहिले यही समयमा बस्ने ठाउँ नपुगेर पाहुना फर्काउनुपर्ने अवस्था हुन्थ्यो। यस वर्ष भने विस्तारै पर्यटक बढ्ने क्रम जारी छ।”

अध्यक्ष गुरुङले घान्द्रुकको सडक सहज भएको जानकारी देशभर पुर्‍याउन आवश्यक रहेको बताउनुभयो।

“यो समय सबैभन्दा बढी नेपाली पाहुना आउने समय हो। लगातार वर्षा हुँदा बाटो अवरुद्ध भएको थाहा पाए पनि खुलेको जानकारी नहुन सक्छ,” उहाँले भन्नुभयो, “घान्द्रुकवासीको एउटै आग्रह छ—मौसमसँगै बाटो पनि खुलेको छ। निर्धक्क भएर घुम्न आउनुहोस्, हामी स्वागत गर्न तयार छौँ।”

घान्द्रुकमा पर्यटकको ठूलो चाप आए पनि आवासको समस्या नहुने स्थानीय पर्यटन व्यवसायी बताउँछन्।

अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा हाल ९५ वटा होटल र ४५ वटा होमस्टे सञ्चालनमा छन्। यी होटल तथा होमस्टेमा एकै दिन करिब २ हजार ५ सय पाहुना राख्न सकिने क्षमता रहेको उहाँले जानकारी दिनुभयो। त्यसभन्दा बढी पर्यटक आएमा स्थानीय घरमै समेत आवासको व्यवस्था गर्न सकिने उहाँको भनाइ छ।

“पाहुना धेरै भएको अवस्थामा व्यक्तिगत घरमा पनि व्यवस्थापन गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “गाउँमा आएको पाहुनालाई फर्काउन नपरोस् भन्ने हाम्रो मान्यता हो।”

सडक सहज भएसँगै घान्द्रुकमा पर्यटक आगमन बढ्न थालेकाले आगामी दसैँ–तिहारको समयमा पर्यटन व्यवसाय थप चलायमान हुने स्थानीय व्यवसायीको अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *