फ्रान्समा शिक्षा सुधारको माग गर्दै चर्कियो आन्दोलन: दङ्गा प्रहरी र विद्यार्थीबीच हिंस्रक झडप, हजारौँ नाबालिग पक्राउ
यो आन्दोलनको सुरुआत करिब दुई हप्ताअघि पेरिसको आर्थिक रूपमा विपन्न तथा उपेक्षित मानिने क्षेत्र (Suburbs) बाट भएको थियो। उपत्यकाका साना विद्यालयहरूबाट सुरु भएको विरोधको ज्वाला अहिले फ्रान्सभरिका करिब २ हजारभन्दा बढी हाईस्कूलहरूमा फैलिसकेको छ।
काठमाडौं, २० असोज । शिक्षा क्षेत्रमा व्याप्त बेथिति, बजेटको अभाव र राज्यको बेवास्ताविरुद्ध फ्रान्समा सुरु भएको विद्यार्थी आन्दोलन अहिले देशव्यापी हिंसात्मक जनआक्रोशमा परिणत भएको छ। सरकारले आफ्ना मागहरूप्रति बेवास्ता गरेको भन्दै आक्रोशित बनेका माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीहरूले फ्रान्सका मुख्य शहरहरूमा लगातार नाकाबन्दी र विशाल प्रदर्शन जारी राखेका छन्।
राजधानी पेरिससहित मार्सेली, नान्टेस , लियोन , स्ट्रासबर्ग र रेन्स लगायतका शहरहरूमा मङ्गलबार स्थिति थप तनावग्रस्त बनेको छ। विद्यार्थीहरूले “उनीहरूलाई हाम्रो वास्ता छैन” र “पढ्ने कि बाँच्ने?” जस्ता कडा नारा लेखिएका प्लेकार्ड बोकेर सडक ठप्प पारेका छन्। स्थिति नियन्त्रणमा लिन दङ्गा नियन्त्रक प्रहरीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध अश्रुग्यास र बल प्रयोग गरेपछि विभिन्न शहरहरू रणमैदानमा परिणत भएका छन्।
पेरिसको गरिब बस्तीबाट सल्किएको असन्तोषको आगो
यो आन्दोलनको सुरुआत करिब दुई हप्ताअघि पेरिसको आर्थिक रूपमा विपन्न तथा उपेक्षित मानिने क्षेत्र (Suburbs) बाट भएको थियो। उपत्यकाका साना विद्यालयहरूबाट सुरु भएको विरोधको ज्वाला अहिले फ्रान्सभरिका करिब २ हजारभन्दा बढी हाईस्कूलहरूमा फैलिसकेको छ। High School Students Union का अनुसार देशका अधिकांश विद्यालयहरूमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् भने धेरैजसो शिक्षण संस्थाको पठनपाठन ठप्प भएको छ।
प्रदर्शनका क्रममा कतिपय स्थानमा आन्दोलनकारीहरूले सडकमा रहेका गाडी र फोहोरका डब्बाहरूमा आगो बालेका छन् भने प्रहरीतर्फ ढुङ्गा र सिसाका बोतल प्रहार गरेका छन्।
प्रहरीको अश्रुग्यास र अशोभनीय बल प्रयोग: १५ वर्षीय किशोरले गुमाए हात
आन्दोलन चर्कँदै जाँदा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ ठूलो क्षति पुगेको छ। उत्तरी फ्रान्समा भएको एक मुठभेडका क्रममा दङ्गा प्रहरीले प्रहार गरेको अश्रुग्यास वा स्टन ग्रेनेड उठाउन खोज्दा १५ वर्षीय एक विद्यार्थीको हात र पाखुराको केही भाग विस्फोट भई उडेको छ। फ्रान्सेली पत्रिका ‘ला भोइक्स दु नोर्ड’ का अनुसार ती किशोरको अवस्था गम्भीर रहेको छ।
प्रहरीको धरपकड र हिंसात्मक प्रतिक्रियाप्रति कडा आपत्ति जनाउँदै स्ट्रासबर्गका विद्यार्थी ह्युगो भेट्जेलले भन्नुभयो, “जब राज्यले हाम्रा जायज मागको जवाफ हिंसा र बल प्रयोगबाट दिन्छ, तब स्पष्ट हुन्छ कि देशमा लोकतन्त्रले काम गर्न छाडिसकेको छ। शासक अभिजात वर्ग र हामी आम विद्यार्थीबीच ठूलो खाडल बनेको छ।”
गृह मन्त्रालयका अनुसार आन्दोलन सुरु भएयता हालसम्म ६,१०० भन्दा बढी मानिसलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। पक्राउ पर्नेमा अधिकांश १८ वर्षमुनिका नाबालिगहरू छन्। तीमध्ये १,८०० भन्दा बढीमाथि औपचारिक मुद्दा चलाउने तयारी भइरहेको छ। हालसम्मको झडपमा २१५ जना विद्यार्थी र ७१५ जना प्रहरी अधिकारी घाइते भइसकेका छन्।
अन्य क्षेत्रको ऐक्यबद्धता र अन्तर्राष्ट्रिय समर्थन
शिक्षा क्षेत्रको यो आन्दोलनमा अब विद्यार्थी मात्र एकाकी रहेका छैनन्। फ्रान्सका शक्तिशाली किसान युनियन, ऊर्जा क्षेत्रका श्रमिकहरू र शिक्षक सङ्गठनहरूले पनि विद्यार्थीका मागप्रति समर्थन जनाउँदै सडकमा उत्रिने घोषणा गरेका छन्।
अभिभावक र शिक्षकहरू आफ्ना बालबालिकाका माग पूरा गराउन मात्र नभई प्रहरीको बर्बरता र घुसपैठियाहरूबाट विद्यार्थीलाई जोगाउन सडकमा ओर्लिएका छन्। यति मात्र नभई, छिमेकी देश बेल्जियमबाट समेत विद्यार्थीहरू फ्रान्सेली समकक्षीहरूसँग ऐक्यबद्धता जनाउन सीमा पार गरेर प्रदर्शनमा सहभागी भएका छन्।
बजेट घाटा र सरकारको असमञ्जसता
चर्को दबाबमा परेका फ्रान्सेली प्रधानमन्त्री सेबस्टियन लेकोर्नु (Sebastien Lecornu) ले आफ्ना मन्त्रीहरूलाई विद्यार्थीका मागहरूबारे अक्टोबरको अन्त्यसम्ममा कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको छ। सरकारले अदक्ष शिक्षकहरूको साटो योग्य जनशक्ति भर्ना गर्ने, दिवा खाजाको समय बढाउने, विद्यालयको समय तालिका परिमार्जन गर्ने र पुराना जीर्ण भवनहरूको मर्मतसम्भार गर्ने आश्वासन दिएको छ।
तथापि, विश्लेषकहरू भने सरकारी आश्वासनप्रति आशङ्का व्यक्त गर्छन्। फ्रान्स हाल ठूलो वैदेशिक ऋण र गम्भीर बजेट घाटाको सङ्कटबाट गुज्रिरहेको छ। यस्तो आर्थिक मन्दीका बिच सरकारले शिक्षा र सार्वजनिक सेवामा तुरुन्तै ठूलो बजेट कहाँबाट व्यवस्थापन गर्छ भन्ने प्रश्न खडा भएको छ। आन्दोलनकारीहरूले भने माग पूरा नभएसम्म प्रदर्शन नरोक्ने चेतावनी दिएका छन्।
