नारायणी नदीको बाढीले चितवनतर्फ एक हजार १५० मिटर तटबन्धमा क्षति

काठमाडौँ, असोज २१ । नारायणी नदीमा आएको बाढीले चितवनतर्फ नदीकिनारमा निर्माण गरिएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुर्‍याएको छ । भरतपुर महानगरपालिका क्षेत्रअन्तर्गत नारायणी पुलदेखि पश्चिम गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार सिद्धिगणेश वन क्षेत्रमा ६०० मिटर, मझुवा वन क्षेत्रमा ३०० मिटर, हिरापुर क्षेत्रमा १०० मिटर तथा गौरेश्वर, गाँजीपुर र कटेरो क्षेत्रमा ५०–५० मिटर तटबन्धमा बाढीले क्षति पुर्‍याएको छ । बाढीका कारण तटबन्ध क्षतिग्रस्त हुनुका साथै आसपासका क्षेत्रमा डुबानसमेत भएको छ ।

नारायणी पुलदेखि पश्चिम चितवनतर्फ अधिकांश क्षेत्रमा तटबन्ध निर्माण भइसकेकाले यसपटकको बाढीबाट तुलनात्मक रूपमा कम क्षति भएको पौडेलले बताउनुभयो । तटबन्ध निर्माण हुन बाँकी रहेका केही स्थानबाट बाढी बस्तीमा पसे पनि ठूलो मानवीय तथा भौतिक क्षति हुन नपाएको उहाँको भनाइ छ ।

नवलपरासीतर्फ भने तटबन्ध निर्माण कम भएकाले बाढी र नदी कटानबाट बढी क्षति भएको छ । अमलटारी क्षेत्रमा तीन किलोमिटर तथा नन्दपुर, सीतापुर र सेरी क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।

यसैगरी पर्सौनी, तमासपुर र बगुवान क्षेत्रमा विभिन्न स्थानमा गरी करिब १५ किलोमिटर, खोटेसिमलदेखि ब्रह्मस्थानसम्म ५०० मिटर, पिठौजी, नौनेघाट र घोसारघाट क्षेत्रमा ७०० मिटर तथा सुस्ता क्षेत्रमा एक किलोमिटर ५०० मिटर क्षेत्रमा बाढीले कटान तथा क्षति गरेको पौडेलले जानकारी दिनुभयो ।

नवलपरासीतर्फ नारायणी पुलदेखि तल करिब ९८ किलोमिटर क्षेत्र रहेकामा हालसम्म नौ किलोमिटर क्षेत्रमा मात्र तटबन्ध निर्माण भएको छ । तटबन्ध निर्माण नभएका स्थानमा नदीले कटान गर्दा बढी क्षति भएको उहाँले बताउनुभयो ।

नदी नियन्त्रणका लागि पर्याप्त तटबन्ध निर्माण भएका कारण चितवनतर्फ बाढीको प्रभाव तुलनात्मक रूपमा कम देखिएको र नवलपरासीतर्फ तटबन्धको काम पर्याप्त हुन नसक्दा क्षति बढेको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *