ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको कृषि सम्भावना
काठमाडौँ, असोज २१ । बाजुराको बूढीगङ्गा नगरपालिका १० का भोलाराम जैसीले व्यावसायिक रूपमा सुरु गरेको ड्रागन फ्रुटखेती जिल्लामा वैकल्पिक कृषि व्यवसायको सम्भावनाको उदाहरण बनेको छ । परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन कठिन भइरहेका बेला जैसीले स्थानीय स्रोतसाधन र जमिनको उपयोग गर्दै ड्रागन फ्रुटखेतीलाई आम्दानीको प्रमुख माध्यम बनाउनुभएको हो ।
विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय सञ्चालन गर्नुभएका जैसी त्यसपछि गाउँ फर्किएर ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरी कुखुरापालन र तरकारीखेती सुरु गर्नुभयो । कृषि तथा पशुपालनमा संलग्न भइरहेका बेला नयाँ र फरक किसिमको व्यावसायिक खेती गर्ने सोच आएपछि उहाँ ड्रागन फ्रुटखेतीतर्फ आकर्षित हुनुभएको हो ।
“केही नयाँ फरक गर्नुपर्छ भन्ने सोच आएपछि कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा अनुदान लिएर ड्रागन फ्रुटखेती सुरु गरेको हुँ,” जैसीले भन्नुभयो ।
सुरुआतमा परीक्षणका रूपमा केही बिरुवा रोप्नुभएका जैसीले उत्पादन राम्रो भएपछि खेती विस्तार गर्नुभएको हो । हाल उहाँले पाँच रोपनी क्षेत्रफलमा ड्रागन फ्रुटका एक हजार ४०० बिरुवा लगाउनुभएको छ । बिरुवा रोपेको करिब दुई वर्षमै फल दिन थालेपछि उहाँ यस खेतीप्रति थप उत्साहित हुनुभएको छ ।
जैसीका अनुसार गत वर्ष करिब छ क्विन्टल ड्रागन फ्रुट बिक्री भएको थियो भने चालु वर्ष हालसम्म १५ क्विन्टल बिक्री भइसकेको छ । जेठदेखि फल्न सुरु हुने ड्रागन फ्रुटको मुख्य सिजन असोजसम्म रहने उहाँले बताउनुभयो । अझै केही फल पाक्ने क्रममा रहेकाले चालु वर्ष उत्पादन तथा बिक्री थप बढ्ने उहाँको अपेक्षा छ ।
ड्रागन फ्रुट बिक्रीबाट वार्षिक रु पाँचदेखि छ लाखसम्म आम्दानी हुने गरेको जैसीले बताउनुभयो । उत्पादित फल बिक्रीका लागि बजारको समस्या नरहेको उहाँको भनाइ छ । उहाँले मार्तडी बजारका साथै अछामको साँफेबगरसम्म पुर्याएर ड्रागन फ्रुट बिक्री गर्दै आउनुभएको छ ।
उत्पादन बढाउन सके आम्दानीसमेत वृद्धि गर्न सकिने उहाँ बताउनुहुन्छ । राम्रो मलजल र व्यवस्थापन गर्न सके ड्रागन फ्रुटको एउटा बोटले २५ वर्षसम्म उत्पादन दिने उहाँको अनुभव छ । अन्य बालीको तुलनामा धेरै सिँचाइ आवश्यक नपर्ने, गाईवस्तुको मल प्रयोग गर्न सकिने तथा समय-समयमा काँटछाँट गरे पुग्ने भएकाले खेती तुलनात्मक रूपमा सहज रहेको उहाँले बताउनुभयो ।
जैसीको खेती जिल्लाकै ठूलो क्षेत्रफलमा गरिएको व्यावसायिक ड्रागन फ्रुटखेतीमध्ये एक हो । बाजुरामा केही वर्षअघि अन्य स्थानमा पनि यसको खेती सुरु भए पनि व्यावसायिक रूपमा विस्तार हुन सकेको छैन । कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागन फ्रुटखेती सुरु गर्न सहयोग गरिएको थियो ।
बाजुरामा कृषियोग्य जमिन पर्याप्त भए पनि सिँचाइको अभाव र परम्परागत खेतीका कारण किसानले अपेक्षित आम्दानी लिन कठिन भइरहेको छ । जिल्लाको करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन । यस्तो अवस्थामा कम सिँचाइमा पनि उत्पादन लिन सकिने नयाँ तथा उच्च मूल्यका बालीको व्यावसायिक विस्तारले किसानको आयआर्जनमा योगदान पुर्याउन सक्ने देखिएको छ ।
कृषि ज्ञान केन्द्रकी बागवानी विकास अधिकृत सृष्टि ढुङ्गानाका अनुसार समुद्री सतहबाट १०० देखि एक हजार ५०० मिटर उचाइसम्म ड्रागन फ्रुटखेती गर्न सकिन्छ । “नयाँ बाली भएकाले जिल्लामा थोरै किसान मात्र व्यावसायिक खेतीमा हुनुहुन्छ,” उहाँले भन्नुभयो, “बाजुरामा ड्रागन फ्रुटखेतीको सम्भावना प्रशस्त छ । मेहनतका साथ व्यावसायिक रूपमा लाग्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।”
