हुम्लाकाे माथिल्लो क्षेत्रमा हिमपात, तल्लो क्षेत्रमा वर्षाले जनजीवन प्रभावित

हुम्ला, २१ असाेज । हुम्लामा गएरातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ।

नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली र ताँजाकोटलगायत तल्लो क्षेत्रमा रातिदेखि हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जीवन प्रभावित भएको छ।

लगातारको वर्षाले ग्रामीण क्षेत्रका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ। कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेका छन्।

सर्केगाड–१ जैरको खच्चाका दीपक कार्कीका अनुसार खच्चामा सुक्खा पहिरो जाने समस्या भइरहेका बेला निरन्तरको वर्षाले सडक आवागमन थप प्रभावित भएको छ।

वर्षाका कारण पाक्न लागेको अन्नबाली, खेतबारीमा रहेका तरकारीलगायतका बालीमा समेत क्षति पुग्ने जोखिम बढेको छ। केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ।

हिमपात र वर्षाले पशुचौपायासमेत प्रभावित भएका छन्। चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार र संरक्षणमा समस्या भएको स्थानीयले बताएका छन्।

मौसममा अचानक परिवर्तन आएसँगै उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जिल्लाका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको भन्दै स्थानीयलाई सुरक्षित रहन आग्रह गर्नुभएको छ। वर्षाबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र अहिले पनि वर्षा जारी रहेको उहाँले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *