वधशाला र मासु पसलका लागि सरकारको नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ, २१ असाेज । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई व्यवस्थित बनाउन नयाँ मापदण्ड प्रस्ताव गरेको छ। मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गर्दै राय-सुझाव माग गरेको हो।

प्रस्तावित व्यवस्थाअनुसार मासु पसल र पशु वध गर्ने स्थान अलग-अलग हुनुपर्नेछ। वध गर्नुअघि पशुलाई कम्तीमा १२ घण्टा विश्राम गराउनु पर्ने, छानासहितको टहरा बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

मस्यौदाअनुसार वधअघि पशुलाई सफा गर्ने तथा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था अनिवार्य गरिनेछ। रोगको शङ्का लागेका वा बिरामी पशुलाई स्वस्थ पशुबाट छुट्टै राख्नुपर्ने व्यवस्था पनि प्रस्तावमा छ। त्यस्तै, छाला काढ्ने, भुत्ल्याउने, मासु सफा गर्ने तथा काट्ने र परीक्षण गर्ने स्थान पनि व्यवस्थित हुनुपर्नेछ।

मासु पसलमा पर्याप्त स्वच्छ पानी, हात धुने सुविधा र सरसफाइको व्यवस्था अनिवार्य प्रस्ताव गरिएको छ भने मासुको गुणस्तर कायम राख्न बिक्री कक्षमा चिलर वा फ्रिजरसहितको ‘कोल्डचेन’ व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि मस्यौदामा समेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *