पूर्वप्रधानन्यायाधीश जबरासहित नातेदार र निकटस्थका घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
काठमाडौं, २१ साउन । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनका केही नातेदार तथा निकटस्थ व्यक्तिहरूका घरमा छापा मारेको छ।
विभाग तथा प्रधानमन्त्रीनिकट स्रोतका अनुसार जबराका साथै नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा समेत विभागको टोलीले छापा मारेको हो। जबराका केही नातेदारको घरमा पनि विभागको टोली पुगेको स्रोतले जनाएको छ।
जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाताका नवीन बस्नेतको घरमा समेत छापा मारिएको बताइएको छ। जबराका निकटस्थ व्यक्तिका घरमा गरिएको छानबिनका क्रममा केही महत्त्वपूर्ण कागजात बरामद भएको स्रोतको दाबी छ।
यसअघि केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई उनकै निवासबाट मध्यराति पक्राउ गरेको थियो। उनलाई करिब १२ घण्टा नियन्त्रणमा राखेपछि छाडिएको थियो। सम्पत्ति शुद्धीकरण विभागको पछिल्लो कारबाहीबारे थप विवरण भने सार्वजनिक भइसकेको छैन।
