मुस्ताङका तीन स्थानीय तहद्वारा सडक आयोजनालाई छ ब्यारेल इन्धन सहयोग
काठमाडौँ, असोज २१ । राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत अवरुद्ध बेनी–जोमसोम सडक मर्मतका लागि मुस्ताङका तीन स्थानीय तहले छ ब्यारेल डिजेल सहयोग गरेका छन् ।
असोज ११ गतेदेखि अवरुद्ध सडक मर्मतका लागि उपकरण सञ्चालन गर्न इन्धन अभाव भएपछि घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले डिजेल उपलब्ध गराएका हुन् । सडक अवरुद्ध हुँदा इन्धन ढुवानीमा समस्या आएपछि पर्याप्त उपकरण तथा जनशक्ति परिचालन भए पनि मर्मत कार्य प्रभावित हुँदै आएको थियो ।
घरपझोङ गाउँपालिकाले २२० लिटर, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ६६० लिटर र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २२० लिटर डिजेल उपलब्ध गराएका छन् । स्थानीय तहका प्रमुखहरूले मुस्ताङबाट इन्धन ढुवानी गरी आयोजनालाई हस्तान्तरण गरेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार इन्धन प्राप्त भएसँगै अवरुद्ध सडक मर्मतमा परिचालन गरिएका उपकरण सञ्चालन गर्न सहज भएको छ । नेपाली सेनाको सहयोगमा म्याग्दीको कुनौटे क्षेत्रमा ड्रोनमार्फत समेत इन्धन ढुवानी गरिएको थियो ।
असोज ८ गतेदेखि भएको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका दर्जनौँ स्थानमा क्षति पुगेको थियो । अधिकांश स्थानमा मर्मत गरी सडक सञ्चालनमा ल्याइए पनि म्याग्दीको पोखरेबगरस्थित कालीगण्डकी नदीको पुलको एप्रोच सडक र कुनौटे क्षेत्रमा मर्मत कार्य तीव्र पारिएको आयोजना प्रमुख शर्माले बताउनुभयो । उहाँले अवरुद्ध सडक छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि मुस्ताङको जनजीवनसँगै पर्यटन, कृषि तथा व्यापारिक गतिविधि प्रभावित भएका छन् । दसैँ-तिहारको समयमा हुने पर्यटन व्यवसाय र स्याउको बजारीकरणमा समेत असर परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।
सडक सम्पर्क विच्छेद हुँदा दैनिक उपभोग्य वस्तु तथा इन्धनको आपूर्तिमा समस्या भएको छ । त्यस्तै कोरला नाकाबाट हुने निकासी-पैठारी व्यापारसमेत प्रभावित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन गन्तव्यतर्फ जान सकेका छैनन् ।
बेनी-जोमसोम-कोरला सडक गण्डकी प्रदेश र मुस्ताङको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकाले सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सबै पक्षको सहयोग आवश्यक रहेको अध्यक्ष विष्टले बताउनुभयो ।
