पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु
कास्की, २२ असोज । पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानी घर भएका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ बस्ने ३७ वर्षीय राजु कुमाल रहेका छन्।
उनका अनुसार आज दिउँसो घरको जग खन्ने क्रममा करिब सात फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जना मजदुरमाथि माटोको ढिस्को खसेपछि उनीहरू पुरिएका थिए। घटनाको जानकारी प्राप्त भएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले उद्धार कार्य सुरु गरेको थियो।
उद्धार टोलीले माटो पन्छाएर पुरिएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेको थियो। मृतक सुनारलाई अपराह्न ४ः३५ बजे उद्धार गरिएकामा चिकित्सकले ५ः०० बजे मृत घोषणा गरे भने कुमाललाई साँझ ६ः०० बजे मात्र उद्धार गरिएकामा ६ः२६ बजे मृत घोषणा गरिएको प्रहरी निरीक्षक रिजालले बताए।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रिजालको कमान्डमा १०, वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा सात तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेडक्वार्टर कालिका गण पोखराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजतकुमार यादवको कमान्डमा १३ जनाको टोली उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ।
अवैज्ञानिक तरिकाले गरिएका प्लटिङका कारण घटना घटेको भन्दै स्थानीयले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।
