सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे
सङ्खुवासभा, २२ असोज । जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ । साउनयता स्क्रब टाइफसका सङ्क्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले जानकारी दिनुभयो । वर्षायामको समयमा घाँसपात तथा झाडी बढ्नुका साथै त्यसमा काम गर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफस सङ्क्रमित बढेका उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लामध्ये सङ्खुवासभामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । सङ्खुवासभा कोशी प्रदेशको पहिलो र देशभरमा तेस्रो स्थानमा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार साउनदेखि असोज २१ गतेसम्म जिल्ला अस्पतालमा ३९३ र जिल्लाका विभिन्न पालिकास्थित स्वास्थ्य संस्थामा १६७ जनामा स्क्रब टाइफस पुष्टि भएको हो । पछिल्लो समय जिल्लाको सभापोखरी गाउँपालिका स्क्रब टाइफसको उच्च जोखिममा परेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । जिल्लाका १० स्थानीय तहमध्ये सभापोखरी गाउँपालिकामा सबैभन्दा बढी ११० र चैनपुर नगरपालिकामा ४३ जनामा स्क्रब टाइफस पुष्टि भएको उहाँले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८०/८१ मा ५४८, आव २०८१/८२ मा ३४१ र आव २०८२/८३ मा ४६७ जना स्क्रब टाइफसका सङ्क्रमित भेटिएका थिए ।चालु आवको तीन महिनामा ५६० जना बिरामी भेटिएका जनाउँदै श्रेष्ठले यो सङ्ख्या गत आर्थिक वर्षभरि जिल्ला अस्पतालमा भेटिएका सङ्क्रमितभन्दा बढी रहेको बताउनुभयो । जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमणका कारण बिरामीको मृत्यु भने नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सङ्क्रमित बढ्दै गएपछि नियमित रूपमा अद्यावधिक गर्न थालिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । स्वास्थ्यकर्मीका अनुसार बिरामीको सङ्ख्या र सङ्क्रमणको अवस्थालाई हेर्दा जिल्लामा स्क्रब टाइफसको जोखिम अझै कायम छ ।
वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, जाडो लाग्ने, ग्रन्थि सुन्निने, छालामा बिमिरा आउने तथा किर्नोले टोकेको स्थानमा कालो खटिरा जस्तो दाग देखिनु स्क्रब टाइफसका प्रमुख लक्षण हुन् । “स्क्रब टाइफस ओरिएन्सिया त्सुत्सुगामुसी नामक ब्याक्टेरियाले लाग्ने रोग हो । सङ्क्रमित लार्भा अवस्थाको सूक्ष्म माइटको टोकाइबाट मानिसमा यो सङ्क्रमण सर्दछ”, उहाँले भन्नुभयो ।
