दशैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड
काठमाडौँ, २३ असोज । दशैँ मनाउन उपत्यकाबाट घर जाने यात्रुलाई लक्षित गर्दै आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। टिकट बुकिङ सुरु हुनुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको चाप बढेको छ।
यात्रुको भीड व्यवस्थापन तथा टिकट वितरण सहज बनाउन नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरिएको छ। लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउन आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको छ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिबीच असोज २० गते भएको बैठकले असोज २३ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
दशैँमा घर जाने यात्रुको चाप बढ्ने भएकाले टिकट वितरणलाई व्यवस्थित बनाउन तथा यात्रुलाई सहज यात्रा सुनिश्चित गर्न सम्बन्धित निकायले आवश्यक व्यवस्थापन मिलाएका छन्।
