दसैँलाई धार्मिक पर्वमा मात्र सीमित गर्नु हुँदैन : संस्कृतिविद् श्रेष्ठ
भक्तपुर, ३० असाेज । दसैँको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै भक्तपुरमा ‘दसैँ के हो र कसरी मनाउने ?’ विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
स्वतन्त्र पत्रकार संघ भक्तपुरको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले दसैँलाई हिन्दू धर्मावलम्बीको पर्वमा मात्र सीमित गरेर हेर्न नहुने बताएका छन् । उनले दसैँ नेपालको ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रिय पहिचानसँग जोडिएको पर्व भएकाले यसको मौलिकता र ऐतिहासिक पृष्ठभूमि बुझेर मनाउनुपर्नेमा जोड दिए ।
श्रेष्ठले दसैँलाई टीका, जमरा, खानपिन र पारिवारिक भेटघाटमा मात्र सीमित गर्दा यसको गहिरो सांस्कृतिक तथा ऐतिहासिक पक्ष ओझेलमा पर्न सक्ने बताए । उनले धार्मिक मान्यतासँगै नेपाली समाजको सांस्कृतिक विकासक्रमको अध्ययन गरेर दसैँको महत्व बुझ्नुपर्ने धारणा राखे ।
श्रेष्ठले दसैँको ऐतिहासिक पृष्ठभूमि र नेपाली समाजमा विकसित मौलिक परम्पराको अध्ययन आवश्यक रहेको बताए । उनले दसैँलाई करिब दुई हजार वर्ष पुरानो संस्कृतिका रूपमा व्याख्या गर्दै यसको धार्मिक पक्षभन्दा व्यापक ऐतिहासिक र सामाजिक महत्व रहेको उल्लेख गरे ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य प्रेमध्वज लामाले दसकाैंदेखि आफूले दसैँ मनाउन नसकिएकाे सन्दर्भ निकाल्दै विभिन्न जातजातिले विभेदपूर्ण दसैँ मनाउने परम्पराको निरन्तरता दिनसके दसैँको सांस्कृतिक महत्व झल्किने बताउनुभयाे । उनले संस्कृति, परम्परा र सामाजिक सम्बन्ध बलियो बनाउन दशैंले जातजातीमा विभेद हुन नहुने बताए।
कार्यक्रममा सभापति रेणु त्वानाबासुसहित नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति सुन्दर शिल्पकार, नेवा पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुंगानालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दसैँ मनाउने परम्परा, यसको बदलिँदो स्वरूप र नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विषयमा समेत विचार आदानप्रदान गरिएको थियो ।
