देशका विभिन्न स्थानमा सवारी दुर्घटना : २४ घण्टामा ९ जनाको मृत्यु
सवारी दुर्घटना
काठमाडौँ, कात्तिक १ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।
सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागथानस्थित सडकमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जना रहेका छन् । उक्त दुर्घटनामा परी घाइते भएका सुमो चालक र एक जना यात्रुको सिन्धुली अस्पतालमा तथा अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।
यस्तै, सुनसरीको इनरुवा नगरपालिका ४ बसचोकस्थित सडकमा लु २ ख ६९१२ नम्बरको ट्रकले को २५ प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय ५० वर्षीया रितादेवी यादवको ज्यान गएको छ । उता उदयपुरको कटारी नगरपालिका ५ भोर्लेमा प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको विद्युतीय (इभी) गाडी एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ३० वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको छ ।
तराईका जिल्लाहरू धनुषा र मोरङमा भएका मोटरसाइकल दुर्घटनामा पनि दुई जनाको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका १७ तेतरिया पुलस्थित सडकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । त्यसैगरी, मोरङको सुनवर्षी नगरपालिका ५ झुङ्गी टोलमा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको मोटरसाइकल एकापसमा ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको ज्यान गएको छ ।
यसैबीच, रौतहटको मौलापुर नगरपालिका २ मर्यादपुरमा बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा फतुवा विजयपुर नगरपालिका २ की ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ। त्यस्तै, रोल्पाको माडी गाउँपालिका १ चालाङ भिरस्थित सडकमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो दुर्घटना हुँदा स्थानीय ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको छ । सबै घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेका छन् ।
