खःमेय जात्रा सम्पन्न भएसँगै आज ब्रह्मायणी मन्दिरमा रातभर मेला
भक्तपुर, ३ कात्तिक । बडादसैँको महानवमीका अवसरमा ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएसँगै भक्तपुरको ब्रह्मायणी मन्दिरमा मेला सुरु भएको छ। महिषासुरको प्रतीक मानिने खःमेयलाई नवदुर्गा मन्दिरबाट दौडाउँदै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि मेला सुरु भएको हो।
ब्रह्मायणी देवीको दर्शन गर्न तथा मेला भर्न भक्तजनको रातभर घुइँचो लाग्ने गर्छ। भक्तपुरको दसैँसँग जोडिएको यो जात्रा स्थानीय धार्मिक आस्था र मौलिक सांस्कृतिक परम्पराको महत्त्वपूर्ण हिस्सा हो।
यसैबीच, व्यासी टोलबाट कालो राँगो दौडाउँदै यालाछें र बालाखु हुँदै दरबार स्क्वायर पुर्याएर तलेजुमा कालरात्रि पूजा गरिएको छ। जात्राका क्रममा स्थानीयवासीले बाटोको दुवैतर्फ बसेर सुकुन्दा बत्ती बाल्दै राँगोको पूजा गरेका थिए।
राँगो दरबार स्क्वायर पुगेपछि खड्ग लिएर बसेका पूजारी ब्राह्मणले त्यसलाई तलेजुको मूलचोकभित्र लैजान आदेश दिएका थिए। राँगोलाई तलेजुको मूलचोकमा पुर्याएर कालरात्रि पूजा गरिएको तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो।
महाअष्टमीको अवसरमा तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँसको बलि दिएर कालरात्रि पूजा गरिएको उहाँले बताउनुभयो। गुठी संस्थान कार्यालय अर्थात् सरकारको व्यवस्थापनमा वर्षौंदेखि चल्दै आएको परम्पराअनुसार बलि पूजा गरिएको उहाँको भनाइ छ।
जोशीका अनुसार अष्टमीको कालरात्रि पूजा अत्यन्त विशिष्ट मानिन्छ। यस रात ३२ गुणले युक्त निकुथु अर्थात् निक्खर कालो राँगोसहित बलि पूजा गर्ने परम्परा रहिआएको छ।
