पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ, कात्तिक ५ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो।
काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा.प्र.०२-०६३ प ९०९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ। दुर्घटनामा घाइते हुनुभएका बैठाको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका ४ हलगडास्थित कोशी लोकमार्गमा को.२७ प २०३६ नम्बरको मोटरसाइकललाई प्र.१-०२-००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी ८ निवासी ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ।
मकवानपुरको बकैया गाउँपालिका ५ श्रीपुरमा बा.प्र.०८-००१ ह ०१०५ नम्बरको अटोको ब्रेक फेल भई दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका ५ डिल्लेचोकस्थित भित्री सडकमा प्र.१-०१-२४५ प ६३८० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीय बलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १ अम्रेनीमा डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बा.१८ च ४५८७ नम्बरको गाडीले ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा भएका यी दुर्घटनामा ३१३ जना घाइते भएका छन् ।
