कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु
कास्की विपद्
काठमाडौँ, कार्तिक ६ । । कास्कीमा गत असोज महिनामा भएका ५९ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्य महिनाको तुलनामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका दुर्घटनामा ७९ वटा सवारीसाधन संलग्न थिए । दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार तीव्र गति र चालकको लापरवाही सवारी दुर्घटनाका प्रमुख कारण हुन् । असोज महिनामा तीव्र गतिका कारण मात्रै २० वटा दुर्घटना भएका छन् । गत असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।
प्रहरी नायब उपरीक्षक पासवानले विद्यालय बस दुर्घटनामा ठूलो मानवीय क्षति भएको र अन्य साना दुर्घटनासमेत असोजमा बढी भएको बताउनुभयो । उहाँका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १०, सवारीचालक अनुमतिपत्र नभएका चालकका कारण पाँच, यान्त्रिक समस्याका कारण एक र अन्य कारणले २३ वटा दुर्घटना भएका छन् ।
यसैबीच, प्रहरीले असोज महिनामा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध चार हजार ७८५ वटा कारबाही गरेको छ । उक्त कारबाहीबाट ३९ लाख ९८ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
असोज महिनामा जिल्लामा विभिन्न विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुक्खा पहिरोमा परेर दुई पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त अवधिमा आगलागीका पाँच, अविरल वर्षाका २८, चट्याङका दुई र सुक्खा पहिरोका दुई घटना भएका थिए ।
अविरल वर्षाका कारण चारवटा घरमा आंशिक क्षति पुगेको छ भने चट्याङका घटनामा तीनवटा चौपाया मरेका छन् ।
यसैगरी, प्राकृतिक सम्पदाको दोहन नियन्त्रणका क्रममा प्रहरीले सातवटा सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको छ । उक्त कारबाहीबाट रु एक लाख १४ हजार राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
