सप्तकोशीमा जेटबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन बेपत्ता
धनकुटा, ८ कात्तिक । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुनसरीको बराहक्षेत्र–चतरातर्फ १५ जना यात्रु लिएर जाँदै गरेको ‘ओबीएम’ कम्पनीको जेटबोट आइतबार अपराह्न करिब २ बजे ब्रेक फेल भई दुर्घटनामा परेको हो।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी (सुनसरी)को टोलीले उद्धार गरी चालकसहित १२ जनालाई उपचारका लागि चतरा अस्पताल पठाएको थियो। उपचारका क्रममा सुनसरी बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, अन्दाजी ६/७ वर्षीया एक बालिका र अन्दाजी ४०/५० वर्षका एक पुरुषको मृत्यु भएको छ। मृतक दुई जनाको नाम र थर खुल्न बाँकी छ।
दुर्घटनामा परेकामध्ये झापा कनकाई नगरपालिका–४ का ७ वर्षीय शिवक मगर, सुनसरी बराहक्षेत्र–१ की २१ वर्षीया प्रमिला मगर र २२ वर्षीया मनु राई नदीमा बेपत्ता छन्।
सप्तकोशीमा बेपत्ता भएकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा १४ जना र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमान्डमा १६ जनाको टोली घटनास्थलमा खटिएको छ।
जेटबोटका चालक सुनसरी बराहक्षेत्र–१ का २४ वर्षीय सुमन मगरसहित अन्य नौ जना यात्रु भने उद्धारपछि सकुशल रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
