डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार, नामसहीत
काठमाडौं, १५ कात्तिक । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार भएका छन्। घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ।
कात्तिक १३ गते राति भएको घटनाबारे प्रहरीले भोलिपल्ट बिहान मात्रै जानकारी पाएको थियो। कारागारमा रहेका १७ जनामध्ये आठ जना पर्खाल भत्काएर सुरुङ खनी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले बताउनुभयो।
प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि छन्। सुरुङ खन्न रड प्रयोग गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।
फरार हुनेमा डोल्पाका कालिप्रसाद रोकाया, हरिबहादुर बुढा र यज्ञ विक, रुकुम पश्चिमका तिलक भण्डारी, रामबहादुर कामी र अदेश भण्डारी, सल्यानका रेशम राना तथा जाजरकोटका कपिल परियार छन्।
आठै जना अझै फरार रहेकाले खोजीका लागि प्रहरी परिचालन गरिएको छ। घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
