लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं, १६  कात्तिक ।  प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट ट्रामाडोल, ब्राउनसुगर र खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वरबाट प्रहरीले १९ वर्षीय शैलेश नेपालीलाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरेको छ। दोलखा घर भई गौरीघाट बस्दै आएका उनीबाट ट्रामाडोल ४३० ट्याब्लेट, नोर्फिन १३ एम्पुल, फेनारगन १९ एम्पुल र डाइजिपाम २७ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

त्यसैगरी, बर्दियाको बाँसगढी नगरपालिका–३ उत्तर भकारी गाउँबाट ब्राउनसुगरजस्तो देखिने २ ग्राम ३१० मिलिग्राम पदार्थसहित मंगल थारू (२८) र निराजन थारू (२५) पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्नुका साथै प्रयोग गरेको लु.प्र.०३–००१ प ८८० नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित भाइरल रोडबाट खैरो हेरोइनजस्तो देखिने ५४० मिलिग्राम पदार्थसहित शुक्लाफाँटा नगरपालिका–५ निवासी प्रियका सुनार (२४) र प्रबिण सुनार (२१) पक्राउ परेका छन्।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ दिव्यश्वरी प्लानिङबाट प्रहरीले करिब ५४ ग्राम ९२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनहरा बस्ने कपिलवस्तुको बाणगंगा नगरपालिका–९ का बसन्तबहादुर खत्री (३८) र दोलखाको मेलुङ गाउँपालिका–३ का प्रदीप केसी (२८) रहेका छन्।

दाङको घोराही उपमहानगरपालिका–८ शान्ति टोलबाट ब्राउनसुगरजस्तो देखिने ७८ ग्राम ९०० मिलिग्राम पदार्थ र नगद दुई लाख ७७५ रुपैयाँसहित घोराही–९ निवासी गोविन्द खड्का (३१) पक्राउ परेका छन्।

यस्तै, बर्दियाको गुलरिया नगरपालिका–८ कोठिया गाउँबाट २५ वर्षीय दीपेश सिंह थारूसहित दुई जनालाई ब्राउनसुगरजस्तो देखिने एक ग्राम ३३० मिलिग्राम पदार्थसहित प्रहरीले पक्राउ गरेको छ। दीपेशको घर तलासी गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

झापाको गौरीगञ्ज गाउँपालिका–२ आँपगाछीबाट ब्राउनसुगरजस्तो देखिने सात ग्राम ३४० मिलिग्राम पदार्थसहित विजय राजवंशी (२८) र शिवसताक्षी नगरपालिका–६ निवासी ओम नारायण राजवंशी (३०) पक्राउ परेका छन्।

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–११ भेडाबारीबाट सन्दीप श्रेष्ठ (३४) सहित तीन जना पक्राउ परेका छन्। उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पाँच ग्राम ९८० मिलिग्राम पदार्थ र नगद ४२ हजार ५०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। सन्दीपको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला परेको थियो।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–७ बाट ब्राउनसुगरजस्तो देखिने १३९ मिलिग्राम पदार्थसहित स्थानीय १९ वर्षीय किरण राना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *