धरानमा दुई राउन्ड हवाई फायर गरेर २१० किलो गाँजासहित पाँच जना पक्राउ
काठमाडौँ, १६ कात्तिक । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई राउन्ड हवाई फायर गरेर करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ ।
गोप्य सूचनाका आधारमा बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीका रामसागरकुमार यादव (२४), राजेन्द्रप्रसाद मण्डल (४५), राजकुमार शाह (५९), सुनसरीका अमृत बिशुङ्खे (२१) र भारत बिहारको मधुबनीका सन्तोष ठाकुर (३८) छन् ।
प्रहरीका अनुसार रामसागर र राजकुमारले बरामद भएका दुवै जिप चलाएका थिए । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
