चितवनमा प्रतिबन्धित माउर माछा नष्ट गर्न प्रशासनको निर्देशन
नारायणगढ, १६ कात्तिक । चितवनमा प्रतिबन्धित माउर माछापालन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन दिएको छ।
जिल्लाका विभिन्न स्थानमा प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण भइरहेको र माछाको आहारका रूपमा सडेगलेका मासु तथा दुर्गन्धित अण्डा प्रयोग गर्ने गरेको पाइएपछि प्रशासनले अनुगमन तीव्र पारेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको टोलीले भरतपुर महानगरपालिकाका विभिन्न मत्स्य फार्ममा अनुगमन गर्दा तीनवटा फार्ममा प्रतिबन्धित माउर माछापालन गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो।
अनुगमनका क्रममा केही पोखरीमा दुर्गन्धित मासु र सडेगलेका अण्डा माछाको आहारका रूपमा प्रयोग गरिएको पनि पाइएको छ। प्रशासनले माछा तत्काल नष्ट गर्न, त्यस्ता आहार प्रयोग नगर्न तथा पोखरी र आसपासको क्षेत्र सफा राख्न निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले गत भदौमै प्रतिबन्धित माछापालन नगर्न सचेत गराइएको भए पनि अटेर गरेपछि अहिले नष्ट गर्न निर्देशन दिनुपरेको बताउनुभयो। उहाँले प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण गरे कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिनुभयो।
पशु सेवा कार्यालय भरतपुरका प्रमुख प्रभात न्यौपानेले पटकपटक सचेत गराउँदा पनि माउर माछापालन नरोकिएपछि यस्तो कदम चालिएको बताउनुभयो। पोखरीमा फोहोर तथा सडेगलेका पक्षीजन्य पदार्थ प्रयोग भएको र त्यस्ता सामग्री आपूर्ति गर्ने ह्याचरीलाई समेत सचेत गराइएको उहाँले जानकारी दिनुभयो।
माउर माछा प्राकृतिक जलाशयमा पुगेमा स्थानीय जातका माछा तथा अन्य जलचरलाई असर पुग्न सक्ने र जैविक विविधतामा नकारात्मक प्रभाव पर्ने पशु सेवा कार्यालयले जनाएको छ।
प्रशासनले जिल्लाका सबै माछा व्यवसायीलाई माउर माछापालन तथा बिक्रीवितरण नगर्न र उपभोक्तालाई पनि त्यस्ता माछा खरिद नगर्न आग्रह गरेको छ। प्रतिबन्धित माछापालन, बिक्रीवितरण वा आहारका रूपमा सडेगलेका पशुपक्षीजन्य पदार्थ प्रयोग गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ।
पशु सेवा कार्यालयका अनुसार चितवनमा करिब एक हजार हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको छ। माडी नगरपालिका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा जोन क्षेत्रसमेत हो।
