आजदेखि सरकारी कार्यालयमा हिउँदे समय लागू, ४ बजेसम्म मात्रै सेवा
काठमाडौं, १६ कात्तिक । देशभरका सरकारी कार्यालयमा आजदेखि हिउँदे समय लागू भएको छ । सरकारको निर्णयअनुसार आगामी माघ १५ गतेसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन् ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म साताको पाँच दिन यही समयअनुसार सेवा प्रवाह हुनेछ ।
जाडोयाममा दिन छोटो हुने र साँझ छिट्टै पर्ने भएकाले कर्मचारी तथा सेवाग्राहीको सहजताका लागि कार्यालय समय एक घण्टा घटाइएको हो । यसअघि कार्यालयहरू बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।
यसअघि इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय सातामा पाँच दिन मात्रै सञ्चालन हुँदै आएका छन् ।
नयाँ समयअनुसार सेवा लिन सेवाग्राहीलाई सम्बन्धित कार्यालयहरूले आग्रह गरेका छन् । माघ १६ गतेदेखि पुनः नियमित समय लागू हुनेछ ।
