नेपालगञ्जका तीन युवाको पुष्पखेती, तिहारमा फूलको माग बढ्दै

बाँके, १८ कात्तिक। कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका बाँकेका तीन विद्यार्थीले व्यावसायिक सम्भावना खोज्दै पुष्पखेती सुरु गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१९ फुटाहामा उनीहरूले १० कट्ठा जग्गामा गरेको पुष्पखेतीबाट आम्दानीसमेत गर्न थालेका छन्।

स्थानीय वेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले ‘फिट फार्म’ नामक संस्थामार्फत प्रयोगात्मक रूपमा पुष्पखेती सुरु गरेका हुन्। सानो लगानी र मेहनतबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेपछि उनीहरूले यसलाई पहिलो कृषि अभ्यासका रूपमा अघि बढाएका हुन्।

फिट फार्मका सञ्चालक वेदराज आचार्यका अनुसार चितवनबाट फूलको बीउ ल्याएर गत साउनदेखि खेती सुरु गरिएको हो। पानी नजम्ने जग्गा छनोट गरी गरिएको खेतीमा तिहारअघि नै करिब ५० हजार रुपैयाँ बराबरको फूल बिक्री भइसकेको छ। अहिले फूलको अग्रिम बुकिङसँगै खुद्रा बिक्रीसमेत भइरहेको उनले बताए।

तिहारमा फूलको माग उच्च हुने भए पनि बजारमा भारतीय आयातित फूलको हिस्सा ठूलो रहेको आचार्यको भनाइ छ। बुटवल, दाङ, काठमाडौं र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आए पनि पहिलो प्राथमिकता स्थानीय ग्राहकलाई दिइएको उनले जानकारी दिए।

फूलको बजारीकरणका लागि सामाजिक सञ्जाललाई माध्यम बनाइएको छ। तिहारका अवसरमा नेपालगञ्जको धम्बोझी क्षेत्रमा फूल तथा माला बिक्री गर्ने तयारीसमेत गरिएको फिट फार्मले जनाएको छ।

आचार्यका अनुसार वर्षायाममा पानी जम्ने समस्या, रोग तथा किराको व्यवस्थापन चुनौतीपूर्ण भए पनि उचित जग्गा छनोट र आवश्यक सावधानी अपनाउँदा राम्रो उत्पादन लिन सकिन्छ। पुष्पखेतीसँगै आगामी दिनमा तरबुजा र स्ट्रबेरीखेतीलाई पनि प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उनले बताए।

यसैबीच, लुम्बिनी फ्लोरिकल्चर एसोसिएसनकी पूर्वसदस्य तथा महिला उद्यमी सङ्घ बाँकेकी महासचिव बिन्दुचर्ति मगरका अनुसार बाँके जिल्लामा करिब १३ बिघा क्षेत्रफलमा पुष्पखेती भइरहेको छ।

जिल्लाको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलखेती हुँदै आएको उनले जानकारी दिइन्। स्थानीय उत्पादनको बजारीकरणलाई व्यवस्थित बनाउन स्थानीय तहले आवश्यक नीति निर्माण गर्नुपर्ने उनको सुझाव छ।

मगरले स्वदेशी पुष्पखेतीलाई प्रोत्साहन गर्न भारतीय फूलको आयात नियन्त्रण गर्नुपर्ने धारणा पनि राखिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *