वर्षको अन्त्यदेखि इजरायललाई दिँदै आएको ४ अर्ब डलरको सहायता रोक्ने ट्रम्पको घोषणा
ट्रम्पको घोषणा इजरायलमा हालै सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री नेतान्याहु सरकार गठनका लागि गठबन्धन बनाउने प्रयासमा रहेका बेला आएको हो । इजरायलका प्रमुख विपक्षी नेता गादी आइजेनकोटले अमेरिकी सहयोग रोक्ने घोषणाप्रति कडा प्रतिक्रिया जनाएका छन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक ४ अर्ब अमेरिकी डलर बराबरको सहायता वर्षको अन्त्यदेखि बन्द गर्ने घोषणा गरेका छन् ।
मंगलबार फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले इजरायललाई अब अमेरिकी सहयोग आवश्यक नरहेको भन्दै सहायता रोक्ने निर्णयबारे बताएका हुन् । अमेरिकी सहयोग इजरायलका लागि राजनीतिक बहसको विषय बनेको उल्लेख गर्दै उनले अन्य देशलाई पनि त्यति नै रकम दिनुपर्ने प्रश्न उठ्न सक्ने बताए ।
‘इजरायल हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार हो । हामी उसलाई अरू कसैलाई भन्दा बढी सहयोग गर्छौँ । तर अब उसलाई यसको आवश्यकता छैन,’ ट्रम्पले भने ।
अमेरिकाले सन् २०१८ देखि लागू भएको १० वर्षे समझदारीअन्तर्गत इजरायललाई वार्षिक ३ अर्ब ८० करोड डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ । उक्त सम्झौता सन् २०२८ मा समाप्त हुँदैछ । तर ट्रम्पले भने यस वर्षको अन्त्यदेखि नै सहायता बन्द गर्ने संकेत गरेका छन् ।
अमेरिकी सहयोगबाट इजरायलले अमेरिकी हतियार खरिद गर्ने भएकाले उक्त रकम अन्ततः अमेरिकी हतियार उत्पादक कम्पनीहरूमा पुग्ने गरेको छ ।
ट्रम्पले इजरायललाई आवश्यक परे सहायता जारी राख्न सकिने भए पनि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग यस विषयमा सहमति भएको दाबी गरेका छन् । यद्यपि, उक्त सहमतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।
अमेरिकी राजनीतिमा इजरायल सहयोग विवादको विषय
इजरायललाई दिइँदै आएको अमेरिकी सैन्य सहयोग पछिल्लो समय अमेरिकी राजनीतिमा विवादको विषय बन्दै गएको छ । डेमोक्रेटिक र रिपब्लिकन दुवै दलभित्र यस विषयमा फरक धारणा देखिन थालेका छन् ।
पूर्व अमेरिकी मध्यपूर्व वार्ताकार आरोन डेभिड मिलरले इजरायलको विषय रिपब्लिकन पार्टीभित्रै ठूलो ध्रुवीकरणको कारण बनेको बताएका छन् ।
उनका अनुसार टकर कार्लसन, मार्जोरी टेलर ग्रीनलगायतका प्रभावशाली व्यक्तिहरू तथा उपराष्ट्रपति जेडी भान्ससमेत अमेरिकाले इजरायलसँग कायम राखेको निकट सम्बन्धको औचित्यबारे प्रश्न उठाउने पक्षमा देखिएका छन् ।
यद्यपि, पूर्वअधिकारीहरूले ट्रम्पको घोषणाले तत्कालै अमेरिकी सैन्य सहायता बन्द हुनेमा आशंका व्यक्त गरेका छन् । विशेषगरी इरानसँग पुनः सैन्य तनाव बढ्न सक्ने अवस्थामा अमेरिकाले इजरायललाई दिँदै आएको सहयोग पूर्ण रूपमा रोक्ने सम्भावनाबारे उनीहरूले प्रश्न उठाएका छन् । अमेरिकी संसद्को समेत बजेट विनियोजनमा महत्वपूर्ण भूमिका रहने भएकाले राष्ट्रपतिको घोषणाले मात्रै सहायता स्वतः बन्द नहुने उनीहरूको भनाइ छ ।
नेतान्याहुको राजनीतिक संकटमा थप दबाब
ट्रम्पको घोषणा इजरायलमा हालै सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री नेतान्याहु सरकार गठनका लागि गठबन्धन बनाउने प्रयासमा रहेका बेला आएको हो ।
इजरायलका प्रमुख विपक्षी नेता गादी आइजेनकोटले अमेरिकी सहयोग रोक्ने घोषणाप्रति कडा प्रतिक्रिया जनाएका छन् ।
उनले अमेरिका र इजरायलबीचको विशेष सम्बन्ध राष्ट्रिय सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै इजरायली नागरिक र सुरक्षा निकायले सञ्चारमाध्यमबाटै रणनीतिक सम्बन्धमा परिवर्तनबारे थाहा पाउनु नेतान्याहुको असफलता भएको बताए ।
‘अमेरिकासँगको विशेष सम्बन्ध इजरायलको राष्ट्रिय सुरक्षाको केन्द्रीय आधार हो । नेतान्याहुको व्यवहारले उनीमाथि अब विश्वास गर्न नसकिने देखाएको छ,’ आइजेनकोटले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
यसअघि ट्रम्पले निर्वाचनको एक साताअघि मात्रै नेतान्याहुको खुलेर समर्थन गरेका थिए । उनले नेतान्याहुलाई अमेरिकाले इजरायलबाट अपेक्षा गरेको किसिमको साझेदार भन्दै प्रशंसा गरेका थिए । तर पछिल्लो घोषणाले दुई नेताबीचको सम्बन्धमा नयाँ प्रश्न खडा गरेको छ ।
नेतान्याहुले पनि सहायता अन्त्य हुने संकेत गरेका थिए
नेतान्याहुले यसअघि नै इजरायलले अमेरिकी सैन्य सहायतामा निर्भरता घटाउनुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए । गत मे महिनामा अमेरिका र इजरायलबीच पुरानो समझदारीको विकल्प खोज्न औपचारिक छलफलसमेत सुरु भएको थियो ।
गत साताको निर्वाचनअघि एक इजरायली सञ्चारमाध्यमसँग कुरा गर्दै नेतान्याहुले अमेरिकी सहायता अन्त्य हुने समय नजिकिएको बताएका थिए ।
उनले आफूले दुई पटक गरी इजरायलको रक्षा बजेटका लागि अर्बौँ डलर अमेरिकी सहायता सुनिश्चित गरेको भए पनि अब त्यसलाई निरन्तरता नदिइने बताएका थिए ।
फक्स न्युजले ट्रम्पलाई सैन्य सहायता रोक्ने हो वा नगद रकम उपलब्ध गराउन बन्द गर्ने हो भनेर सोध्दा उनले दुवै रूपमा बुझ्न सकिने जवाफ दिएका थिए ।
ट्रम्पले इजरायलले आफूलाई आवश्यक पर्ने हतियार तथा सामग्री आफैँ खरिद गर्न सक्ने पनि बताएका छन् ।
इजरायलभित्रै नेतान्याहुको आलोचना
ट्रम्पको घोषणापछि इजरायलको वामपन्थी डेमोक्र्याट्स पार्टीका प्रमुख यायर गोलानले नेतान्याहुको आलोचना गरेका छन् ।
इजरायलको सेनाका पूर्वउपप्रमुखसमेत रहेका गोलानले अमेरिकी सहायता बढाउन पहल गर्नुपर्ने प्रधानमन्त्रीले उल्टै सहायता गुमाउने अवस्था सिर्जना गरेको आरोप लगाए ।
उनले नेतान्याहुको नेतृत्वले इजरायलको सुरक्षा र आर्थिक संकटलाई थप गहिरो बनाउँदै देशको भविष्य जोखिममा पारेको टिप्पणी गरेका छन् ।
त्यस्तै, नेतान्याहुको जीवनी लेखेका पत्रकार अन्सेल फेफरले पनि अमेरिकी सहायता अचानक रोक्ने ट्रम्पको घोषणालाई नेतान्याहु र उनका निकट सहयोगी रोन डर्मरको कूटनीतिक असफलता भनेका छन् ।
उनका अनुसार अमेरिकी राजनीतिबारे आफूहरू जानकार रहेको दाबी गर्ने नेतान्याहु र डर्मरकै कार्यकालमा इजरायल र अमेरिकाबीचको सम्बन्धमा ठूलो गिरावट आएको छ ।
यसैबीच, ट्रम्प प्रशासनले गत सेप्टेम्बरमा मात्रै इजरायललाई २ अर्ब ८० करोड डलर बराबरका शक्तिशाली बम बिक्री गर्न स्वीकृति दिएको थियो । त्यसैले सहायता रोक्ने पछिल्लो घोषणाले अमेरिका–इजरायल सैन्य सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ ।
