इरान युद्धले मध्यावधि निर्वाचनमा हार भयो : ट्रम्प
एजेन्सी, १८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका खेलेको स्वीकार गर्नुभएको छ। उहाँले विपक्षी डेमोक्रेटिक पार्टीलाई बधाई दिँदै हारको व्यक्तिगत जिम्मेवारी भने लिन अस्वीकार गर्नुभएको छ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ८० वर्षीय ट्रम्पले डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको बताउँदै निर्वाचन परिणामलाई व्यक्तिगत हारका रूपमा नलिएको उल्लेख गर्नुभयो। उहाँले विपक्षी दलसँग विभिन्न विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभए पनि आफूलाई मन नपर्ने विधेयकमा भिटो लगाउने चेतावनी दिनुभयो।
इरान युद्ध र बढ्दो तेलको मूल्य मतदातामाझ अलोकप्रिय बनेको स्वीकार गर्दै ट्रम्पले युद्ध निर्वाचन परिणाम प्रभावित पार्ने एउटा कारण भएको बताउनुभयो। यद्यपि, इरानप्रति आफ्नो नीतिको महत्त्व मतदाताले बुझेको उहाँको दाबी छ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले ठूलो अन्तरले जित्ने दाबी गर्नुभयो। उहाँले टेक्सासका गभर्नर ग्रेग एबटको आलोचना गर्दै नाम मात्रका रिपब्लिकन भएकाले पराजय भएको टिप्पणी गर्नुभयो।
ह्वाइट हाउसका एक अधिकारीले पनि रिपब्लिकन उम्मेदवारहरूको गुणस्तर निर्वाचन परिणाममा प्रभाव पार्ने महत्त्वपूर्ण पक्ष भएको बताएका छन्।
प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटहरूको नियन्त्रण कायम भएपछि ट्रम्पको कार्यकालका अन्तिम दुई वर्ष चुनौतीपूर्ण हुने देखिएको छ। यसैबीच, ह्वाइट हाउसले इरानविरुद्ध सैन्य कारबाही पुनः विस्तार हुन सक्ने सम्भावनालाई नकारेको छैन। निर्वाचन परिणामपछि आफ्ना राजनीतिक विरोधीहरूलाई रोक्ने ट्रम्पको संकल्प थप बलियो हुने संकेतसमेत देखिएको छ।
