फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं, १८ कात्तिक । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारण पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो।
मंगलबार फेरिचेमा एयर डाइनेस्टीको हेलिकप्टर (९एन–एओडी) र फिस्टेल एयरको हेलिकप्टर (९एन–एजेआर) एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए।
समितिलाई दुर्घटनाको कारण तथा त्यसमा संलग्न कारक तत्त्वको अध्ययन र विश्लेषण गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। साथै, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुरक्षा उपाय र सुधारका सुझावसमेत समितिले सिफारिस गर्नेछ।
