काठमाडौं गोर्खाजको दोस्रो जित, विराटनगरमाथि ९ विकेटको सहज विजय

काठमाडौँ, कार्तिक १९ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले टुर्नामेन्टमा दोस्रो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा काठमाडौंले विराटनगरलाई ९ विकेटले पराजित गर्‍यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो। विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९.४ ओभरमै एक विकेट गुमाएर हासिल गर्‍यो। टोलीले ६.२ ओभरमै ५० रन पूरा गरेको थियो।

काठमाडौंका दुई अस्ट्रेलियाली ब्याटरले खेल सकाइदिए। डेभिड वार्नर ४४ र विलियम बोसिस्टो २३ रनमा अविजित रहे।

विराटनगरको ब्याटिङ पंक्ति यस खेलमा पूर्ण रूपमा असफल देखियो। पावरप्लेमा ३ विकेट गुमाउँदै टोलीले २३ रन मात्र बनायो। १० ओभर सकिँदा विराटनगर ७ विकेट गुमाएर ३७ रनको अवस्थामा थियो।

रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। एन्जेलो म्याथ्युजले २२ रन जोडे, तर उनले त्यसका लागि ३१ बल खेल्नुपर्‍यो। विराटनगरका तीन ब्याटरले खाता नै खोल्न सकेनन्। अघिल्लो खेलमा चम्किएका वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल ३ रनमा आउट भए।

उच्च लयमा रहेका लोकेश बमको ब्याट यस खेलमा चलेन। उनले १० बलमा ६ रन मात्र बनाए। बसिर अहमद १० रनमा सीमित रहे।

काठमाडौंका तर्फबाट सन्तोष यादवले ३ विकेट लिए भने सहन आरच्चिगेले २ विकेट हात पारे। करण केसी, जहानदाद खान, शाहब आलम र देव शाहले एक–एक विकेट लिए।

५ खेल खेलेको विराटनगरको यो तेस्रो हार हो। ३ खेल खेलेको काठमाडौंले दुई जित र एक हार बेहोरेको छ।

विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो। दोस्रो खेलमा कर्णाली याक्सले ४ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको विराटनगरले चौथो खेलमा जनकपुर बोल्ट्सलाई २ रनको नजिकको अन्तरले पराजित गरेको थियो।

काठमाडौं भने पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने उसले कमब्याक गर्दै कर्णालीलाई ४ विकेटले हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *